२० बैशाख २०८१, बिहिबार

त्रिविका परीक्षा निर्धारित समयमै


त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अनुमति दिएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको स्वीकृतिमा भदौको परीक्षा कार्यतालिका नियमित रूपमा सञ्चालन हुने जानकारी दिए । भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ ।

यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ । सीसीएमसीले आगामी दिनको परीक्षा सञ्चालन गर्न हुने नहुने सम्बन्धमा हाल सञ्चालित विभिन्न तहको परीक्षाको निरीक्षणसमेत गरेको थियो ।

निरीक्षणका क्रममा सीसीएमसीका अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गरी लिखित रूपमा नै विश्वविद्यालयलाई सुझाव दिएका छन् । सीसीएमसीका सुझाव कार्यान्वयन गरिने र परीक्षा केन्द्रमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देश गरिएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए ।

यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म प्रकाशित कार्यतालिकाअनुसारको परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिइएको थियो ।

विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा साउन २८ गते सकिएको छ । स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि उक्त परीक्षा दिएका हुन् ।

स्नातक तहतर्फ विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा हालै मात्र सकिएको छ । हाल स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गत परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !