५ जेष्ठ २०८१, शनिबार

एमालेमा ओली र नेपाल दुवैलाई पन्छाउन ‘छेड्के दाउ’ हान्ने गृहकार्य


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेमा उत्पन्न अन्तरविरोध तथा अन्तरसङ्घर्षका क्रममा युवा पुस्ताका नेताहरू ‘छेड्के दाउ’ हान्ने गृहकार्यमा रहेको महसूस गर्न थालिएको छ ।

केपी शर्मा ओली र माधवकुमार नेपालबीच उत्पन्न विवादको समाधान खोज्दै पार्टीमा एकता पुनर्बहाली गर्न सक्रिय रहेका सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे एमालेलाई विभाजित हुन नदिन जुनसुकै जोखिम उठाउन तयार रहेको बताइन्छ ।

पाण्डे र रावल माधव नेपाललाई समेत समेटेर पार्टी एकता पुनर्स्थापित गर्न प्रयासरत रहेको, तर माधव नेपालले केपीसँग एकीकृत भएर अघि बढ्न नचाहेकोले उनीहरूलाई सकस परिरहेको छ ।

माधव नेपाल छुट्टै पार्टी गठन गर्ने योजनामा भएको बुझेपछि सुरेन्द्र पाण्डे त्यस्तो योजनाका विरुद्ध दृढतापूर्वक उभिएको र पाण्डेसँगै भीम रावल र योगेश भट्टराई पनि विभाजनका निम्ति माधव नेपाललाई साथ नदिने निर्णयमा पुगेका थिए ।

तर, माधव नेपाललाई लिएर नजाँदा आगामी संसदीय निर्वाचनमा केपीले टिकटबाट नै वञ्चित गरिदिने हुन् कि भन्ने चिन्ता माधव खेमाका भनेर चिनिएका नेताहरूमा छ । त्यसैले माधव नेपाललाई छोड्ने हो भने केपीलाई समेत पन्छाएर नयाँ पुस्ताले पार्टीको कमाण्ड सम्हाल्न उपयुक्त हुने सोच उत्पन्न भएको छ ।

पछिल्लो समयमा सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताहरूबीच केपी र माधव दुवैलाई पन्छाएर पार्टीलाई एकतावद्ध बनाउँदै अघि बढ्ने विषयमा छलफल केन्द्रीत हुन थालेको बुझिएको छ ।

तर केपी ओलीले विधान अधिवेशनको मिति निर्धारण गरेर अघि बढिसकेको हुनाले युवा पुस्ताका नेताहरू अप्ठ्यारोमा परेका छन् । यो समाचार घटना र विचार साप्ताहिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !