२१ बैशाख २०८१, शुक्रबार

डिएसपीसहित तीन दर्जन प्रहरी तानिए अनुसन्धानमा


प्रहरी हेडक्वाटर

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ ।

यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट साइबर ब्युरोमा सुरुवा भएका कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको सो प्रकरणमा मुख्य संलग्नता देखिएको छ । उनीहरु दुबै जना आन्तरिक नियन्त्रणमा छन् ।

शाहको भाइबरमा नै प्रश्नपत्र भेटिएको थियो भने यूएन शाखाबाटै प्रश्नपत्र बाहिरिएको पुष्टिसमेत भइसकेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा गठित छानबिन समितिले शनिबारसम्म तीन दर्जन प्रहरीलाई अनुसन्धानमा तानेको छ । सो प्रकरणमा जोडिएको आशंकामा ३० जनासँग भने प्रत्यक्ष सोधपुछ गरिएको छ ।

छानबिन समितिका संयोजक डीआईजी लामाले अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै वास्तविकता खुल्ने बताए ।
‘अनुसन्धान अन्तिम चरणमा छ, एउटा फ्रेम आइसक्यो, छिट्टै सत्यतथ्य ल्याउँछौं,’ डीआईजी लामाले राजधानीसँग भने ।
गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि प्रि–स्याट परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।

तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गरेको थियो । त्यसमध्ये १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए नभएको खुलेको छैन । यो समाचार राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !