२२ बैशाख २०८१, शनिबार

जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा


काठमाडौं । केपी ओली नेतृत्वको सरकारले जाँदा जाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। तीनपटकसम्म बढुवा सिफारिश समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ।

गत सोमबार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इञ्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। साथै उक्त बैठकले खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन पनि गरेको छ। खनाल अवकाशको संघारमा छन्। करिब दुई महिनापछि ५८ वर्ष उमेर हदको कारण अवकाश लिने भएका छन्।

सहसचिवबाट सचिव भई अवकाश पाउँदा पेन्सन सुविधामा फरक पर्छ। यसबाट राज्यको व्ययभार पनि केही बढ्छ। बढुवा सिफारिश समितिले पहिलो नम्बरमा गोपाल सिग्देल, दोस्रो नम्बरमा राजेन्द्रप्रसाद खनाल, तथा तेस्रो नम्बरमा सुर्जकुमार वैद्यको नाम सिफारिश गरेको थियो। तर ओली सरकारले दोस्रो नम्बरमा सिफारिश गरिएका खनाललाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गर्‍यो।

दोस्रोपटक बढुवा सिफारिश समितिले पहिलो नम्बरमा सुशील तिवारी, दोस्रो नम्बरमा गोपाल सिग्देल तथा तेस्रो नम्बरमा राजेन्द्र खनाललाई सिफारिश गरेको थियो। यसैगरी, सिफारिश समितिले पहिलोपटक सहसचिवबाट सचिवमा बढुवा गर्न पहिलो नम्बरमा प्रमिला बज्राचार्य, दोस्रो नम्बरमा सुशिलचन्द्र तिवारी र तेस्रो नम्बरमा गोपाल सिग्देलको नाम सिफारिश गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !