१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष ओली र नेता नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार


केपी ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ ।

वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्यूँताउनुपर्ने र कार्यदलबाट आएको धारणालाई स्वीकार गर्ने बताएपछि सोमबार साँझ अध्यक्ष ओलीले कार्यदल ब्यूँताएका थिए ।

त्यसलगत्तै कार्यदलले मस्यौदा तयार गरी दुवै नेताहरूलाई इमेलमा पठाएको हो। सोमबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टीको विवाद सकिएको र पार्टी एकढिक्का भएको सन्देश दिन दुई नेताको संयुक्त वक्तव्य आउनुपर्ने अपरिहार्यतालाई महसुस गर्दै त्यसको मस्यौदा दुवै नेतालाई इमेल गरिएको हो ।

सोमबार कार्यदल ब्युतिएसँग एमालेको विवाद समाधानोन्मुख भएको छ । यसअघि अध्यक्ष ओली पक्षबाट पाँच र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट पाँच गरी १० सदस्यीय कार्यदल बनाइए पनि दुईपटकभन्दा बढी बैठक नबसी निष्क्रिय भएको थियो ।

रामबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचनमा पराजय भोगेपछि ओलीले कार्यदलको बैठक बस्न नदिई निष्क्रिय बनाएका थिए। जेठ ७ मा बस्ने भनिएको कार्यदल बैठक त्यसपछि बस्न सकेको थिएन ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतलाई कारबाही गरेपछि औपचारिक संवाद टुटेको थियो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !