७ मंसिर २०८१, शुक्रबार

सशस्त्रमा दुबै एआईजीको पदावधि १ वर्ष थपियो : कसलाई घाटा, कसलाई फाइदा ?


पुष्पराम केसी र रामशरण पौडेल

काठमाडौं । अन्ततः सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई आज सोमबार निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो ।

सशस्त्र प्रहरी बलमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्तिकेन्द्रबीच चर्काे लविंग हुँदै आएको थियो ।

सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चार/चार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको समयमा सशस्त्र प्रहरी नियमावली २०७२ आएको हो । नयाँ नियमावली आउनु अगाडि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदावधि पाँच वर्ष रहेको थियो ।

तत्कालीन आईजीपी वन्तले एआईजी र डीआईजीलाई संगठन र नेतृत्वप्रति जिम्मेवार र अनुशासित बनाउन, कार्यसम्पादन राम्रो र क्षमता भएकालाई अगाडि बढाउने उद्धेश्यले नियमावलीमा चार जोड एकको व्यवस्था गरेका थिए ।

म्याद थप गरिएका दुबै जना एआईजी आईजीपी शैलेन्द्र खनालका व्याची हुन् । एक वर्ष म्याद थप भएकाले अब खनालपछि केसी थोरै समय सशस्त्रको नेतृत्वमा पुग्नेछन् । आईजीपी खनालको चार बर्से कार्यकाल आगामी २८ चैतमा सकिदै छ । त्यसपछि अर्काे वर्षको २० वैशाखसम्म केसी आईजीपी बन्नेछन् ।

सशस्त्रमा हाल एआईजीको दरबन्दी दुुई ओटा मात्रै रहेको छ । यही अवस्था रहेको अवस्थामा हाल सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका खड्गबहादुर राई र मन्दिप श्रेष्ठ डीआईजीबाटै अवकाश पाउने भएका छन् ।

अब उनीहरुले आगामी २६ माघमा अवकाश पाउने छन् । सरकारले उनीहरु दुुबैको एक वर्ष म्याद थप गरेको थियो । दुबै एआईजीको म्याद थप नभएको भए राई खनालपछि एक वर्षका लागि सशस्त्रको नेतृत्वमा पुग्ने थिए । राई ११ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

केसीपछि भने वरिष्ठताका आधारमा प्रविणकुमार श्रेष्ठ आईजीपी बन्ने छन् । यसका लागि भने श्रेष्ठको पनि एक वर्ष पदावधि थप्नु पर्ने हुन्छ । पदावधि नथपेको अवस्थामा उनी आगामी ९ असारमा अवकाशमा जाने छन् ।

तर अहिलेसम्मको अवस्था हेर्दा सबै जनाको एक वर्ष पदावधि थपिएको छ । उनको एक वर्ष पदावधि थपिएको अवस्थामा उनी केसीपछि २६ कात्तिक २०८२ सम्म आईजीपी बन्नेछन् ।

श्रेष्ठपछि हालका डीआईजी राजु अर्याल र नारायणदत्त पौडेलमध्ये एक जना सशस्त्रको नेतृत्वमा पुग्ने छन् । केसी र पौडेलको म्याद थप भएकाले उनीहरुलाई अब नेतृत्वमा पुग्न थप सजिलो भएको छ । यो समाचार आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !