७ बैशाख २०८१, शुक्रबार

ओलीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्दा जसपा फुटको संघारमा, अब को प्रधानमन्त्री ?


महन्थ ठाकुर

काठमाडौं। नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्। उनलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले साथ दिएका छन्। भट्टराई र यादव कुनै पनि अवस्थामा एमालेसँग मिल्ने पक्षमा छैनन्।

उनले सार्वजनिक रूपमै ‘दिमाग खुस्केकाहरू मात्र ओलीसँग मिल्नछन्, हामी मिल्दैनौं,’ भन्ने गरेका छन। तर उनकै पार्टीका अध्यक्ष ठाकुर ओलीसँग मिल्न अन्तिम तयारी गर्दै छन्। यसबीचमा, प्रधानमन्त्री र ठाकुरबीच धेरैपटक भेट भइसकेको छ। कहिले एक्लै र केहीले गोप्य भइरहेको छ। ठाकुरनिकट नेता तथा कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जसपाका कार्यकर्ताहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्ने र बन्दी रिहाइ गर्न प्रक्रिया सरकारले अघि बढाएको बताए।

ठाकुरनिकट नेताहरू ओली सरकारले माग पूरा गरेमा ओलीसँग मिलेर जान सकिने बताउँदै आएका छन। तर यादव निकट नेताहरू ओलीसँग कुराकानी गर्न समेत चाहन्नन्। त्यसैले ओलीसँग भेटघाट गर्दा भट्टराई र यादव सहभागी हुने गर्दैनन्। ठाकुर र ठाकुरनिकट नेताहरूले मात्र ओलीसँग कुराकानी गर्ने गरेका छन्। ‘हाम्रो लाइन प्रष्ट छ, जसले माग पूरा गर्छ, त्यसलाई हामीले समर्थन गर्छौ,’ ठाकुरनिकट जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले भने, ‘ओली सरकारले हाम्रो माग पूरा गर्छ भने ओली सरकारलाई हामी समर्थन गर्छौ।’

पार्टीभित्र विवाद बढ्दै गए पछि पार्टीको बैठक बस्न सकेको छैन। चैत ५ गते बोलाइएको कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्न सकेन। ५ गते बस्न नसकेको बैठक होली पछि बस्ने भनिएको थियो। तर, होली पछि पनि बैठक बस्न सकेन।बैठक कहिले बस्छ,कसैलाई थाँहा छैन। कार्यकारिणी समितिको पछिल्लो बैठक पुसको पहिलो साता भित्र बसेको थियो। त्यस बेला समिकरणको चर्चा उठेको थिएन। पार्टीको केन्द्रीय समितिको बैठक अहिलेसम्म एक पटक पनि बस्न सकेको छैन। जसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले भने तयारी नपुगेर बैठक बस्न नसकेको बताए। तयारी पुगे पछि बैठक बस्ने बताए। तर अर्को बैठक कहिले बस्छ, त्यसबारेमा भने उनले केही भन्न चाहेनन्।

पार्टीभित्रको विवादमा पूर्व राजपाका अध्यक्ष मण्डलका ६सदस्यमध्ये ५ जना सदस्यहरूले ठाकुरलाई साथ दिएक छन्। महेन्द्र यादवले भने उपेन्द्र यादवलाई सहयोग गरेका छन्। यसैगरी यादवलाई भट्टराई बाहेक रामसहाय यादव र राजेन्द्र श्रेष्ठले पनि साथ दिएका छन्। तर पनि पार्टीभित्र ठाकुर बहुमतमा पुगेका छन्। पोहर साल झण्डै तत्कालिन समाजवादी पार्टी फुटाएका बिमल श्रीवास्तव, प्रदीप यादव, इस्तियाक राईलगायतका सांसदहरूले ठाकुरलाई साथ दिएका छन्। यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !