१४ बैशाख २०८१, शुक्रबार

ओलीको रणनीति : माधव नेपाललाई जसरी भएपनि एक्लो बनाउने


माधव कुमार नेपाल, केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई जसरी भएपनि एक्लो बनाउने रणनीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन बाध्य पार्ने नीति लिएका हुन् ।

नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि ओली पक्षले पनि भटाभट कारवाही गर्ने वा नेपाल समूहका नेतालाई एक्लाएक्लै भेटेर त्यस्ता कमिटीमा नबस्न आग्रह गर्ने, नमाने तर्साउने नीति लिएको छ । ‘हामीले नेपाल पक्षमा नजानुस्, जाँदा कारबाही हुन्छ, पार्टीको अनुशासन उल्लंघन हुन्छ, अनुशासनको कारबाही हुन्छ भनेर सम्झाएका छौँ,’ ओली निकट एक नेताले भने ।

उनले नेपाल समूहका सांसद र केन्द्रीय सदस्यसँग बेग्लाबेग्लै कुराकानी भइरहेको बताउँदै केही समयपछि नेपालमात्र एक्लै हुनेगरी नेता कार्यकर्ता ओली पक्षमा आउने दाबी गरे । शनिबार मात्रै ओलीले अब केही दिनमा नेपाल पक्षका धेरै नेता आफ्नो टिममा आउने दाबी गरेका थिए ।

बालुवाटारका केन्द्रीय कमिटीको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ ज्ञापनपत्र बुझाउन जाँदा ओलीले व्यक्तिगत कुराकानी भए गरौं, गुटको कुरा हो भने मानिँदैन भनेर फर्काएका थिए ।

त्यही बैठकमा चितवनका सांसद कृष्णभक्त पोखरेल नेपालको साथ छाडेर ओली समूहमा लागेका थिए । त्यसअघि लालबाबु पण्डित, शेरबहादुर तामाङ पनि ओली पक्षमा लागेका थिए । उनीहरूले नेपाल पक्षको साथ छोडेर हिँडेपछि अन्य सांसद पनि धर्मराएको ओली पक्षको दाबी छ । तर नेपाल पक्षले भने उनीहरूले साथ छाडेको विषयमा केही बताएको छैन ।

नेपाल समूहमा रहेका पार्टी उपमहासचिव घनश्याम भुसालले ओलीको स्वार्थ समूहकै कारण आफूहरूलाई कारबाही गर्न तयार भएको बताएका छन्। स्वार्थ समूहकै कारण ओलीले पार्टी तहसनहस बनाएको उनले बताए। उनले कसैसँग बदुला लिनका लागि ओलीले पार्टीलाई गुटमा फेर्दै लगेको र त्यसलाई गिरोहको रूपमा परिणत गर्न लागेको दाबी गरे । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !