२२ बैशाख २०८१, शनिबार

सर्वदलीय बैठकमा ओलीले यतिसम्म भन्न भ्याए, कुन पार्टीका नेताले के-के भने ?


शीतल निवासमा भएको सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी छन् ।

संसद् पुनःस्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको तिक्तताबीच राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा सर्वदलीय बैठक आह्वान गरेकी हुन् । बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको भन्दै दलीय एकता र सहकार्यबाट मुलुकलाई अघि बढाइनुपर्ने आवश्यकता आंैल्याइन् ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मुलुकले ताजा जनादेश खोजेको भन्दै संसद् विघटनकै पक्षमा धारणा राखेका थिए । त्यसपछि कांग्रेस वरिष्ठ नेता पौडेलले भने चुनाव मात्रै विकल्प नभएको भन्दै प्रधानमन्त्रीलाई संसद् सुचारु गर्नेतर्फ लाग्न सुझाएका थिए ।

‘प्रधानमन्त्रीको जोड ताजा जनादेशमा जानुपर्छ भन्ने नै थियो, उहाँ फेरि पनि संसद् विघटनकै पक्षमा देखिनुहुन्थ्यो,’ बैठकबाट बाहिरिएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सञ्चारकर्मीसँगको संवादमा भने ।

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता पौडेलले दलहरू एकताबद्ध ढंगबाट अघि बढ्नुपर्नेमा राष्ट्रपतिको जोड रहेको बताए ।

‘संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि दलहरू मिल्नुपर्छ भन्नेमा राष्ट्रपतिको जोड रह्यो, हामीले राष्ट्रपतिले दलहरूसँग संवाद गर्न ढिला गर्नुभयो । यो छलफल संसद् विघटनअघि नै हुनुपथ्र्यो भन्यौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले शीतल निवासमा भएको छलफलबारे जानकारी दिँदै राजधानीसँग भने ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको निर्णय सदर गर्दा राष्ट्रपतिले दलसँग आवश्यक परामर्श नगरेकोप्रति गुनासो राखेका थिए । यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपतिले उचित समयमा दलसँग परामर्श नगरेको गुनासो गरेका थिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले प्रचण्डसहितका नेताले राष्ट्रपतिले समयमा दलहरूसँग परामर्श नगर्दा मुलुकमा दलबीच राजनीतिक तिक्तताको अवस्था बढ्दो क्रममा पुगेको धारणा राखेको बताए ।

‘राष्ट्रपतिले समयमा दलसँग परामर्श गर्नुभएन, मुलुकको यो अवस्था आउनुमा प्रधमानमन्त्रीसँगै राष्ट्रपति पनि जिम्मेवार हुनुहुन्छ भन्ने धारणा दलका नेताले राखे, प्रचण्डले पनि त्यही भन्नुभयो,’ केसीले भने ।

‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ, यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ,’ राष्ट्रपतिले बैठकमा राखेको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ ।

राष्ट्रपति भण्डारीले नेपालको अतिक्रमित भूभाग सामेल गरी गत जेठमा नयाँ रजनीतिक नक्सा प्रकाशन गर्न राजनीतिक दलले अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै दललाई धन्यवादसमेत दिइन् ।आजको राजधानी दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !