४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि देउवाको बेवास्ताले जसपा अनिर्णीत, ओलीलाई फाइदा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको गठबन्धन बनाउन अग्रसरता नलिएपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि तत्कालै कुनै निर्णय नलिने संकेत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाको एउटा धारले देउवालाई उनकै निवास बूढानीलकण्ठ पुगेर औपचारिक रुपमै प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि देउवाले अग्रसरता नलिएको उनीहरुको गुनासो छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले गत शुक्रबार देउवालाई प्रधानमन्त्री स्वीकार्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसअघि नै प्रस्ताव गरिसकेका थिए ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको धारले भने अहिल्यै कसैलाई पनि समर्थन गर्न नहुने फरक धारणा राख्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन कार्यदल नै बनाएर छलफल गरिरहेका बेला काँग्रेस सभापति देउवाले भने एकपटक पनि आफूहरुलाई बोलाएर छलफल नगरेको जसपाका नेताहरुको भनाइ छ ।

‘हामी आफैले समय लिएर आफ्नो एजेन्डा राख्न गत शुक्रबार गएका थियौँ तर देउवाले हामीलाई बोलाएर एकपटक पनि छलफल गरेका छैनन्,’ वरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘सित्तैमा सहयोग गर्ने वाला छैनौँ । जसले हाम्रा मुद्दा सम्बोधन गर्ने भरोसा दिलाउँछ, उसैलाई हामी सहयोग गर्छौं ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !