१ आश्विन २०८१, मंगलबार

नबिल बैंकका सीईओ ढुङ्गानाको कार्यकाल दुई वर्ष थप


ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थपिएको छ । जेठ २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई असार १७ गतेदेखि लागू हुनेगरी अगामी दुई वर्षका लागि कार्यकाल थपेको हो ।

नबिल बैंकका सीईओका रुपमा उनको पहिलो कार्यकाल असारसम्म थियो । तर, बैंकले उनको पफर्मेन्सप्रति सकारात्मक हुँदै थप दुई वर्षका लागि कार्यकाल थप गरिएको हो ।

नबिल बैंकले तत्कालीन नेपाल बंगलादेश बैंकलाई गाभिएपछि ढुङ्गानालाई सीईओमा नियुक्त गरेको थियो । नबिलमा एनबी बैंकलाई गाभ्नका लागि ढुङ्गानाले महत्वपूर्ण भूमिका खेलेका थिए । अब ढुङ्गानाले थप दुई वर्ष नबिल बैंकमा काम गर्नेछन् ।

तेह्रथुममा जन्मिएका ढुङ्गाना चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । चार्टर्ड एकाउन्टेन्टको पढाई पुरा गरेसँगै २०५२ सालमा तत्कालीन बैंक अफ काठमाण्डूबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी तीन दशकदेखि बैंकिङ क्षेत्रमै छन् ।

उनीसँग नेपाल राष्ट्र बैंकमा पनि १० वर्ष काम गरेको अनुभव छ । सन् २०१८ देखि २०२० सम्म सीईओ ढुङ्गाना वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका थिए ।

नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्ष भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन् । पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ ।

नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड नबिल बैंक लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुबै बैंकको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैंकिङ क्षेत्रमै उदाहरणीय रहेको छ ।

यसबाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ । नबिल बैंकको शाख र विश्वसनीयतालाई थप उचाइमा पुर्याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुङ्गानालाई नेपालको बैंकिङ क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो । साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुन् ।

प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको अध्यक्षका रूपमा नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ ।

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त ढुङ्गानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !