२० बैशाख २०८१, बिहिबार

देउवालाई प्रधानमन्त्री बन्न दबाब, देउवा यसपटक नहतारिनु कारण के ?


शेरबहादुर देउवा File Photo

काठमाडौं । पार्टीबाट प्रधानमन्त्री बन्ने सर्वसम्मत वातावरण बन्दा पनि काँग्रेस सभापति शेरबहादुर देउवा सरकार बनाउने खेलमा लागिसकेका छैनन् । ‘सरकार बनाउन र गिराउन’ संसद्को गणितलाई आफूअनुकूल पार्न पोख्त नेपालको छवि बनाएका देउवा यसपटक नहतारिनुमा अनेक अड्कलबाजी हुन थालेका छन् ।

अहिलेको राजनीतिक परिदृश्यमा प्रधानमन्त्री बन्ने सम्भावना भएका नेतामा देउवा नै अग्रपंक्तिमा छन् । माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष बाबुराम भट्टराई समूहले धेरै अघिदेखि नै देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरिसकेका हुन् । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिएका छन् । तर, देउवा अघि बढ्दा पार्टीबाट विद्रोह गरेर ओलीसँगै गठबन्धन गर्ने सम्भावना कम हुने जसपाका नेताहरुको दाबी छ ।

देउवाले ढोकामा आइसकेको प्रधानमन्त्री पदलाई किन झ्यालबाट चिहाइरहेका छन् त ? यी सबै परिदृश्यका पछि देउवाको चाहना मुलुकलाई मध्यावधि निर्वाचनतिरै धकेल्न सकिन्छ कि भन्नेमा केन्द्रीत रहेको उनीनिकट नेताहरु बताउँछन् । ‘सभापतिजीमा कम्युनिस्टहरु फुटेकै बेला निर्वाचनमा गए पार्टीलाई फाइदा हुन्छ भन्ने सोचाइ होला । केही बाह्य कारण पनि होलान्,’ काँग्रेसका एक नेताले भने ।

सरकारमा जानै हुँदैन भन्ने कांग्रेसको संस्थापनइतर पक्ष पनि ‘युटर्न’ भएको छ । देउवालाई प्रधानमन्त्री बनाउँदा आगामी महाधिवेशन प्रभावित पार्न सक्ने भय बोकेको इतर पक्षले अहिले देउवालाई प्रधानमन्त्री बन्न दबाब दिइरहेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नै सबैभन्दा अघि बढेर देउवालाई प्रधानमन्त्री बन्न जोडबल दिइरहेका छन् ।

संसद्मा प्रमुख प्रतिपक्ष दलको नेता ‘वेटिङ इन प्राइमिनिस्टर’ हो । सरकार असफल हुँदा स्वाभाविक रूपमा विपक्षी दलको नेताले अग्रसरता लिनुपर्ने हो । भावी सत्ता समीकरणका विषयमा अहिलेसम्म माओवादी केन्द्र र जसपाकै अग्रसरतामा भएका हुन् । देउवा नतातिएपछि माओवादी केन्द्रले कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त बैठक देउवा निवास बूढानीलकण्ठमै राख्ने योजना बनाइरहेको छ । एमालेको नेपाल—खनाल पक्षलाई छाड्दा पनि कांग्रेस, माओवादी र जसपा गठबन्धनमा सरकार बन्न सक्छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !