११ बैशाख २०८१, मंगलबार

प्रचण्ड-नेपाल समूह नेपाली कांग्रेससँग सशंकित, होला त गठबन्धन ?

काँग्रेसलाई ग्रिन सिग्नलमा किन अल्झन ?


प्रचण्ड र देउवा

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो । तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस प्रचण्ड-नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर प्रचण्ड-नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ।

संसद् बैठक सुरु हुनु चार दिनअघि बुधबार प्रचण्ड-नेपाल समूहले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो ।

सो समूहले बुधबार केन्द्रीय कमिटी बैठक राखेर नयाँ सरकार गठन गर्ने विषयमा सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय भएको हो ।

त्यसै अनुसार कांग्रेससँग सरकारको नेतृत्व गर्न प्रस्ताव राखिएको थियो । प्रचण्ड-नेपाल समूहले नयाँ सरकार गठनका लागि खुला छलफल गर्ने बताउनु र देउवाले पनि प्रधानमन्त्रीको अफर आए सरकारको नेतृत्व गर्ने बताएपछि दुवै पक्षबीच सरकार गठनमा सहकार्य गर्ने सहमति बनेको बुझ्न सकिन्थ्यो । बिहीबार कांग्रेसले सरकारमा जान हतार नगर्ने भनेपछि प्रचण्ड-नेपाल समूह झस्किएको छ ।

‘हिजो प्रधानमन्त्रीका लागि देउवालाई समर्थन गर्नेगरी कांग्रेससँग सहमति भएको थियो तर आज भने हतार छैन भन्ने आयो यसले हामीलाई सशंकित बनाएको छ’, प्रचण्ड-नेपाल समूहका एक नेताले भने ।

नेपाली कांग्रेसको बिहीबार बसेको पदाधिकारी बैठकमा पनि सरकारमा जान हतार गर्न नहुने धारणा आएको थियो । प्रचण्ड-नेपाल समूहलाई कांग्रेसका सभापति देउवाले यो विषयमा खास जानकारी गराएका छैनन् ।

‘उहाँहरूले समर्थन नगर्ने त भन्नुभएको छैन तर प्रधानमन्त्री दिँदा पनि पछिल्लो पटक अस्वीकार गर्ने अवस्था सिर्जना भएको बुझिँदैछ’, प्रचण्ड-नेपाल समूहका एक नेताले भने । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

यो पनि पढ्नुहोस्

ओली सरकारको ठुलो सफलता : दुई ठुला ‘अतिवाद’ को विसर्जन

ओली सरकारको सफलता : ४३ सशस्त्र समूहले छाडे हिंसाको बाटो, अब एउटा मात्रै समूह अस्तित्वमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !