२१ बैशाख २०८१, शुक्रबार

गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम पूरा


गौतमबुद्ध विमानस्थल

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका छन् ।

विभिन्न कारणले तोकिएकै मितिमा सम्पन्न हुन नसके पनि विगतमा झण्डै हातखुट्टा छोडिसकेको यो विमानस्थल फेरि उठेर पहिले सम्पन्न हुने गौरवको आयोजना बन्न लागेको उनले बताए ।

विमानस्थल आयोजनाका अनुसार अहिलेसम्म निर्माणको ९३ प्रतिशत काम सकिइसकेको छ । अब पाँच प्रतिशत उपकरण जडान र दुई प्रतिशत लाइट फिनिसिङका काम मात्र बाँकी छन् । चिनियाँ ३५ र थाई ३० जना प्राविधिक कोभिड–१९ का कारण आउन नसक्दा प्रभावित भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीको भनाइ छ ।

विमानस्थल निर्माणको अन्तिम म्याद सकिन २५ दिन मात्र बाँकी रहँदा मन्त्री भट्टराईले ती दिनलाई भरपुर सदुपयोग गर्न आयोजनाका अधिकारीहरूलाई निर्देशन दिए । चिनियाँ प्राविधिकहरू छिट्टै आउने टुङ्गो लागेको जनाउँदै उनले थाई प्राविधिकहरू पनि चाँडै आउने आशा व्यक्त गरे ।

कोभिडका कारण आउन नमानेका थाई प्राविधिकहरूलाई ल्याउन अनेक प्रयास भइरहेको जानकारी गराउँदै उहाँले अब पनि नआए वा आउन नसके सरकारले अर्को विकल्प खोजेरै भए पनि काम अघि बढाउने जानकारी गराउनुभयो । त्यसका लागि उपल्लोस्तरमा छलफल भइरहेको पनि उनले बताए ।

अब पनि अल्झिन नहुने भन्दै मन्त्री भट्टराईले समय थपको औचित्य पुष्टि गर्न २५ दिनको गृहकार्य दिन्छु भने । विगतमा अगाडि बढ्न सक्दैन कि भन्ने अवस्थामा पुगेको विमानस्थलको निर्माण आफूले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेयता उत्साहजनक गतिमा बढेको भन्दै उनले कामको रफ्तार बढाउने आयोजनाका सबै प्रशंसाको पात्र भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक ज्ञवाली र लक्ष्मण पौडेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !