८ बैशाख २०८१, शनिबार

नेकपामा ओलीको प्रतीक्षा, आफूमाथि लगाइएको आरोप पुष्टि नभए प्रचण्डले अध्यक्ष पद छोड्नुपर्ने ओलीको चेतावनी


ओली प्रचण्ड

काठमाडौं,मंसिर ८ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान हुने कि थप चर्कने भन्ने विषय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले ल्याउने लिखित प्रस्तावमा निर्भर पर्ने भएको छ ।

ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावका विरुद्ध लिखितरुपमै प्रस्ताव ल्याउने गृहकार्य अगाडि बढाएका छन् । मंसिर ३ मा बसेको सचिवालय बैठकमा १० दिन समय माग गरेपछि पार्टीको सचिवालय बैठक यही मंसिर १३ गते बस्ने भएको छ ।

सचिवालय बैठक बस्नुअघि नै सहमति निर्माण गर्न पार्टीभित्र दोस्रो तहका नेताहरु दौडधूपमा जुटेका छन् । तर अध्यक्ष ओली र प्रचण्ड पक्ष भने आ–आफ्नो रणनीति बनाउन जुटेका छन् । सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टी एकता गर्दा भएका विगतका सहमति भंग भएको अभिव्यक्ति दिएपछि पार्टी एकता नै गम्भीर संकटमा परेको थियो ।

अध्यक्ष ओलीले आफूमाथि लगाइएको लिखित आरोप पुष्टि नभए प्रचण्डले अध्यक्ष पद छोड्नुपर्ने चेतावनी दिइसकेका छन् । सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावको जवाफ नदिने अडान लिए पनि अन्तिममा सचिवालय बैठकमा सहभागी भएर ओलीले लिखितरुपमा आफूले पनि प्रस्ताव ल्याउने सचिवालय बैठकमा जानकारी गराएका थिए ।

ओली पक्षले सचिवालय बैठकमा प्रचण्डले पेस गरेको प्रस्ताव फिर्ता लिए मात्र सहमति कायम हुन सक्ने चेतावनी दिँदै आएको छ । यता प्रचण्ड र वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सचिवालय बैठकमा एक मतका साथ पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता हुन नसक्ने अडान राख्दै आएका छन् ।

सचिवालय बैठक बस्नुअघि नै सहमति निर्माण गर्नुपर्ने पक्षमा नेताहरु देखिए पनि दुवै पक्षको अडानका कारण सहमति त्यति सहज भने नदेखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !