२५ बैशाख २०८१, मंगलबार

दशैंमा भारतीय खसीबोका भित्रिँदा नेपाली किसान चरम मारमा


खसीबोका

काठमाडौं, असोज २२ । नेपाल-भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् ।

कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी साहीले रौतहट बोटव, सिन्धुलीलगायतका खुला नाकाबाट दैनिक ३ सय देखि ४ सय खसीबोका अवैध रूपमा आउने गरेको दाबी गरे । भारतबाट भन्सार छली अवैध रूपमा आएका खसीबोका प्रतिकेजी नेपाली भन्दा सस्तो पर्ने भएकाले पनि नेपालमा उत्पादन भएका खसीबोकाले बजार नपाएको उनको भनाइ छ ।

खसीबोका व्यवसायी शाहीका अनुसार भारतबाट आयात खसीबोकाको प्रतिकेजी ५ सय ३० रुपैयाँ पर्छ भने नेपालमा उत्पादन भएको खसीबोका प्रतिकेजी ६ सय ३० देखि ६ सय ५० रुपैयाँसम्म पर्ने गर्छ । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने सरकारले भारतबाट अवैध रूपमा आउने खसीबोकालाई रोक्नुपर्ने बताए ।

काठमाडौं चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दीपक थापाले विभिन्न नाकाबाट अवैध रूपमा काठमाडौंको कंलकीको खसी बजारमा ३ सय देखि ४ सयसम्म खसीबोका आउने गरेको बताए । नेपाली र भारतीय व्यापारीको मिलेमतोमा भारतबाट भन्सार छली अवैध रूपमा दैनिक ३ सय देखि ४ सय खसीबोका काठमाडौं उपत्यकामा भित्रिँदा नेपालमा उत्पादन भएका खसीबोका बिक्री वितरण हुन छोडेको बताए ।

नेपालमा उत्पादन भएका खसीबोका हेर्दा दुब्लो पातलो देखिने र विभिन्न जिल्लाबाट संकलन गरेर ल्याउने भएकाले भारतबाट अवैध रूपमा आएका खसीबोका भन्दा केही महँगो हुन्छ । भारतबाट अवैध रूपमा आएका खसीबोका सस्तो हुने हुँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा पनि नेपाली व्यवसायी मर्कामा परेका हुन् ।

उनले विभिन्न ठाउँमा खटिएका प्रहरीले नेपाली खसीबोकालाई विभिन्न बाहनामा ठाउँठाउँमा रोकेर दुःख दिने तर भारतबाट अवैध रूपमा ल्याएका खसीबोका स्वतन्त्र रूपमा आउने दिने गरेको बताए ।

यसैगरी, उनले यसवर्षमा दसैंमा गतवर्षको तुलनामा खसीबोका माग आधा नै घट्ने अनुमान रहेको बताए । विगतका वर्षमा दसैंमा काठमाडौं उपत्यका समयमा दैनिक ३ हजार देखि ५ हजार वटासम्म खसीबोका खपत हुन्थे भने यस वर्ष कोरोनाका कारण दैनिक १ हजार पनि खसीबोका खपत मुस्किल हुने अनुमान गरेको बताए । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !