८ पुस २०८१, सोमबार

बलात्कारको घटना प्रहरीसम्मै मिलाउने पञ्चको प्रयास


बलात्कार

राजविराज, असोज १९ । ३६ वर्षीया महिला उनका पति र बहिनी ज्वाइँसँगै आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सप्तरीमा आए। मुद्दा शाखामा पुगेर उनीहरूले बलात्कार प्रयास घटनाका आरोपितलाई कारबाहीको माग गरे । पीडित महिलासँग अनुसन्धान शाखामा बयान लिइयो।

वडाध्यक्ष र वडा सदस्यसहित आरोपितका काकी र ठूली आमा आइतबार पीडित महिलासँग बयान लिने प्रहरी कार्यालयको कोठामै पुगे। उनीहरूले मुद्दा फिर्ता लिन आग्रह गरे। ‘उनीहरूले हातखुट्टा जोडे पनि उजुरी फिर्ता हुँदैन’, पीडितका पतिले भने । आरोपितलाई संरक्षण दिनेहरूले गर्ने पञ्चेतीबारे अनुमान गरेरै प्रहरी कार्यालय आएको उनको भनाइ छ। ‘गुमेको पैसा कमाउन सकिएला तर गुमेको प्रतिष्ठा कमाउन सकिँदैन’, उनले भने।

सप्तरीको विष्णुपुर गाउँपालिका–६ का वचवा सरदार र कोभिया सरदारले असोज ११ गते राति बलात्कार प्रयास गरेको पीडितको भनाइ छ। ‘१० वर्षीय छोरासँग गुहाली घरमा सुतिरहेका बेला मदिरा सेवन गरी आएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ का वचवा सरदार र कोभिया सरदारले असोज ११ गते रातको ११ बजे मुख थुने’, पीडित महिलाले भनिन्, ‘संवेदनशील अंगमा हात हाले र बलात्कारको प्रयास गरे।’

त्यसपछि आफू जेठा छोरा सुतेको घरभित्र दौडेर पुगेको उनले सुनाइन्। ‘कोभिया पछि लाग्दै घरभित्र पस्यो। छोराले च्याप्पै नियन्त्रणमा लियो’, उनले भनिन्, ‘बचवा पर्खालको चेपबाट नियालिरहेका थिए। उसलाई पनि समाउन खोज्दा चप्पल बोकेर भाग्यो। भाग्दा गम्छा छुट्यो।’ उनका पति त्यस रात काम गर्ने इँटाभट्टामै सुतेका थिए।

प्रत्यक्षदर्शी एक छिमेकीले होहल्ला भएपछि नजिकै आएर उज्यालो पारी हेर्दा बचवा भाग्दै गरेको र कोभिया नियन्त्रणमा परेको देखिन्। पीडित महिला चिच्याएपछि उठेका छिमेकी आएर कोभियालाई कुटपिट गरे। कोभियाले जीवनमा यस्तो काम नगर्ने र अबदेखि कहिल्यै नआउने भनी कान समाते।

रातको १ बजेकाले बिहान कुरा बुझ्ने भन्दै कोभियालाई गाउँलेले वडा सदस्य रामकुमार रायको जिम्मा लगाए। भोलिपल्ट बसेको गाउँले भेला ‘पञ्चेती’मा कोभिया उपस्थित भए। बचवा भने अनुपस्थित रहेकाले पञ्चेती असोज १३ गतेलाई सारियो। पञ्चेती रोगिया गाछीमा कि सिंहजीको कामतमा रहेको खाली घरमा बस्ने कुरा नमिलेपछि वडा कार्यालयमै राखेको वडाध्यक्ष बहादुर सदाले स्वीकार गरे।

पीडितले घटनामा संलग्न युवकलाई कारबाहीको माग गर्दै असोज १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिइन्। जिल्ला प्रहरीले उक्त निवेदन छलफलका लागि प्रहरी चौकी विष्णुपुरमा पठायो। प्रहरी चौकी विष्णुपुरका असइ प्रमोद साहले आरोपित दुवै जनालाई चौकीमा झिकायो। केही बेरमा पुगेका वडाध्यक्ष सदाले पञ्चेती गरेर मिलाउने भनेपछि असइ साहले उनकै जिम्मा लगाए ।

पीडित पक्षबाट ठाडो निवेदन परेको र जनप्रतिनिधिले पञ्चेतीबाट समस्या समाधान गर्ने विश्वास दिलाएको भन्दै प्रहरीले आरोपितलाई वडाध्यक्ष सदाकै जिम्मा लगायो। वडाध्यक्षले भने, ‘दुवै पक्षका जनता मेरै हुन्, दुवैले मलाई भोट दिएका छन् तसर्थ घटना मिलाउनुपर्छ। भोलि प्रहरी कार्यालयमा पीडित र मलाई पनि बोलाइएको छ। हामी मिलाउने प्रयास गरिरहेका छौं। महिलाले भोलि मुद्दा फिर्ता लिन्छिन् ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा मनोहर पोखरेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !