काठमाडौं, असोज १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमति विपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेता असन्तुष्ट भएका छन् ।
अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार अध्यक्ष दाहालले वरिष्ठ नेताद्वय खनाल र नेपालसहितका नेतासँग हिजो बिहीबार टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओली फेरि पुरानै ठाउँमा पुगेको निष्कर्षसहित उनीहरूले अध्यक्ष दाहाललाई सचिवालय बैठकका लागि दबाब दिएका छन् ।
केही दिनअघिमात्रै साम्य भएको नेकपाभित्रको विवाद राजनीतिक नियुक्तिसँगै पुनः सुरु हुने देखिन्छ । मन्त्रिपरिषद् पुनर्गठनको ‘मोडालिटी’मा सहमति जुटाउन अध्यक्षद्वय ओली र दाहालबीच संवाद जारी थियो । सरकारले बिहीबारमात्रै दुई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । अमेरिकाका लागि निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका लागि निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदुत नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।
त्यस्तै, बैठकले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । खतिवडा मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकारमा नियुक्ति गरेका थिए । अध्यक्ष दाहालनिकट एक नेताका अनुसार प्रधानमन्त्री ओलीले नियुक्ति विषयमा छलफल नै नगरी एकलौटी गरेका हुन् । हालैको सचिवालय र स्थायी कमिटी बैठकका निर्णय एवं निष्कर्षविपरित प्रधानमन्त्री ओलीले नियुक्ति गरेको दाहाल समूहको आरोप रहेको छ ।
सचिवालय बैठकले समेत मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक अंगमा रिक्त पदाधिकारी एवं राजनीतिक नियुक्ति, विश्वविद्यालयमा हुने नियुक्ति, पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो । नेकपा वरिष्ठ नेता खनालले नियुक्तिबारे आफूले सञ्चारमाध्यमबाट जानकारी पाएको जिकिर गरेका छन् । सचिवालय बैठक नबसेको र व्यक्तिगत रूपमा समेत सल्लाह नभएको बताउँदै उनले यसबारे पार्टीमा छलफल हुने बताए ।
हालै सम्पन्न स्थायी कमिटीको निर्णयअनुसार ओली र दाहालले जारी गरेको अन्तरपार्टी निदर्शे न–५ मा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यता प्रभावकारी कार्यान्वयन गर्ने भन्ने उल्लखे छ । तर, त्यसविपरित प्रधानमन्त्री आफैंले काम गर्न थालेको आरोप असन्तुष्ट नेताले लगाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।