१४ बैशाख २०८१, शुक्रबार

अब घरेलु फुटबल राति पनि हुने


५ चैत, मोरङ  ।  विराट गोल्डकप फुटबल प्रतियोगिता कृतिम प्रकाशमा खेलाइने भएको छ । चैत १७ गतेदेखि २६ गतेसम्म शहीद रंगशालामा हुने प्रतियोगिताका खेलहरु दिवा तथा रात्री खेलाइने प्रतियोगिता आयोजक समितिका अध्यक्ष नवीन रिजालले जानकारी दिनुभयो ।
बेलुकीको खेलका लागि विशेष प्रकारको लाइटको व्यवस्था गरिएको छ । प्रतियोगतामा नेपाल, भारत, भुटान र बंगलादेशका १० टिमको सहभागिता हुनेछ । नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, थ्रीस्टार, नेपाल पुलिस, नेपाल आर्मी, रमपम झापा – ११ र रिजालको मोरङ – ११, भुटानको थिम्पु फुटबल क्लब, बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लब र भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लबमध्ये एकको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुनेले १२ लाख ७१ हजार र दोस्रो हुनेलाई पाँच लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । उक्त पुरस्कार प्रदेश नम्बर १ को सर्वाधिक राशिको रहेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा टिकट बिक्री र प्रायोजकद्वारा जम्मा रु एक करोड तीन लाख आम्दानी हुनेछ भने पुरस्कार, टिमलगायतका अन्य गरी एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
२०१८ सालदेखि महेन्द्र गोल्डकपको नामले सञ्चालित यो प्रतियोगिता विसं २०६७ देखि विराट गोल्डकपको नामबाट रुपान्तरित भएको हो ।
प्रत्येक दिन हुने खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई  १० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !