१४ बैशाख २०८१, शुक्रबार

थोरै भए पनि देखियो आशाको किरण सेयर बजारमा


bullness trend

४ चैत, काठमाण्डौ । साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से घटेको छ । गतसाताको अन्तिम तीन दिन लगातार उकालो लागेको नेप्से आज ९ दशमलव ४० अंकले घटेर १ हजार २ सय ७८ दशमलव ९६ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार कारोबारमा आएका सबै समूह राताम्मे भएपछि समग्र बजार ओरालो लागेको हो । जसमध्ये होटल समूह सबैभन्दा उच्च अंकले घटेको छ । आज होटल समूह ७० दशमलव ७६ अंकले झरेको छ । त्यस्तै बीमा समूह ५२ दशमलव ४ अंकले, जलविद्युत समूह ३३ दशमलव १३ अंकले, उत्पादन तथा प्रशोधन समूह २६ दशमलव १५ अंकले, विकास बैंक समूह ११ दशमलव ९२ अंकले, लघुवित्त १० दशमलव ९२ अंकले, फाइनान्स २ दशमलव ११ अंकले र अन्य समूह १ दशमलव ३२ अंकले झरेका छन् ।

पुँजी बजार सूचक नेप्सेको गति आइतबार सुस्त देखिए पनि कारोबार रकममा विस्तारै तेजी आउन थालेकाले लगानीकर्ता उत्साहित भएका छन् । कारोबार रकमले विस्तारै गति लिन सक्यो भने नेप्से सूचक पनि माथि जाने अनुमान लगाउन सकिन्छ । तर यसका लागि अझै केही दिनको कारोबार र समग्र बजार प्रवृत्तिको सुक्ष्म अध्ययन गर्न आवश्यक हुन्छ ।

यतिबेला अधिकांश कम्पनीहरुको सेयर भाउ निकै सस्तो भइसकेको छ । अझ वाणिज्य र विकास बैंकहरुको सेयर मूल्य धेरै तल आइसकेको अवस्था छ । कतिपय विश्लेषकहरुले वाणिज्य बैंकहरुको सेयर भाउमा अब ठूलो अंकको गिरावट आउने ठाउँ नभएको दाबी समेत गर्न थालेका छन् । यद्दपि, बजारको प्रवृत्तिका बारेमा कसैले पनि ठोकुवा गर्न भने सक्दैन ।

सेयर बजारको गिरावटमा चक्रको पनि प्रभाव परेको विश्लेषण गरिंदैछ । झन्डै ५ वर्षदेखि लगातार बढ्दोक्रममा रहेको बजार गत वर्ष साउनदेखि तल झर्न थालेको हो । बजारले वियरिस बाटो समातेको पनि करिब डेढ वर्ष जति हुन लागिसकेको छ । धेरै लगानीकर्ताहरु अब बजार बढ्ने दिनको प्रतीक्षामा छन् ।

सेयर बजारलाई चर्को बैंक ब्याजदर र अधिक आपूर्तिले मारमा  पारेको हो । यसबाहेक बजार तल झरिरहनुपर्ने अन्य ठोस कारण देखिंदैन । बजार सुधार हुन बैंक ब्याजदर तल आउनैपर्छ । यसबाहेक थपिएको अधिक आपूर्ति व्यवस्थापन गर्ने नयाँ संयन्त्रको खोजी हुन जरुरी छ ।

लगानीकर्ताको आत्मबल उकास्ने कार्यक्रम चाहिएको छ । सरकारको पुँजी बजार सम्बन्धी स्पष्ट नीति र दृष्टिकोण पनि बजारले खोजेको अवस्था छ । आइतबार कुल १५२ कम्पनीको ८ लाख ३३ हजार ९८६ कित्ता सेयर किनबेच भएका छन् ।

कुल १५२ कम्पनीको ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पछिल्ला दिनको औसत कारोबारलाई अध्ययन गर्दा यो राम्रो हो । पछिल्ला केही दिन यता दैनिक कारोबार रकम औसतमा २० करोड हाराहारीमा खुम्चिएको थियो । आइतबार कारोबार रकम बढ्दा केही आशा भने अवश्य पनि पलाएको छ ।

कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ । नेपाल लाइफको २ करोड ६३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र सूर्या लाइफ इन्सुरेन्सको संस्थापक सेयर परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !