१६ जेष्ठ २०८१, बुधबार

चाडपर्वसँगै बढ्यो ट्राफिक जाम : कहाँ–कहाँ हुन्छ धेरै जाम ?


भाद्र ३१, काठमाडौँ | नजिकिदो चाडपर्वसँगै उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक जामबढेको छ । विशेषगरी बजार, सपिङ मल तथा बसपार्क क्षेत्रमा ट्राफिक समस्या बढ्न थालेको हो । महानगरीय ट्राफिक महाशाखाका अनुसार चाडपर्वमा सर्वसाधारणको आवागमन बाक्लो हुने भएकाले धेरै ट्राफिक जाम देखिएको छ ।

कहाँकहाँ हुन्छ धेरै ट्राफिक जाम ?
महाशाखाका अनुसार न्युरोड, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, सहिदगेट, रत्नपार्क, केशरमहल, दरबारमार्ग, भृकुटीमण्डप, भद्रकाली क्षेत्रमा जाम बढेका छन् ।

ठमेल, सोह्रखुट्टे, नयाँ बजार, गोंगबु, बालाजु, स्वयम्भू क्षेत्र, चाबहिल, गौशाला, बौद्ध क्षेत्र, कोटेश्वर, तिनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सातदोबाटो, कालिमाटी, बल्खु, कलंकी क्षेत्रमा ट्राफिक जामको समस्या अत्यधिक देखिने गरेको छ ।

प्रवक्ता रञ्जितकारले चक्रपथ क्षेत्र र उपत्यकाको प्रमुख नाकामा ट्राफिक जाम बढेको बताए । ‘चाडपर्वमा उपत्यकाबाट बाहिरिने र भित्रिने सर्वसाधारणको संख्या अधिक हुन्छ । यसको सीधा असर नाकाको सवारी आवागमनमा पर्छ,’ उनले भने ।

चाडपर्वमा मेला तथा जात्रा लाग्ने तथा भिभिआइपीको आवागमनले ट्राफिक समस्या बढ्ने गरेको छ ।

ट्राफिक प्रहरीको संख्या दोब्बर पारिने
चाडपर्वमा हुने गरेको ट्राफिक जाम नियन्त्रण गर्न महाशाखाले विशेष कार्यक्रम ल्याउने योजना बनाएको छ ।

अबको केही दिनमै सहरी क्षेत्रमा केन्द्रित गरी सडकमा खटिने ट्राफिक प्रहरीको संख्या दोब्बर पारिने महाशाखाले जनाएको छ ।त्यसबाहेक मोबाइल टोली पनि परिचालन गरिनेछ ।

‘चाडपर्वका वेला उपत्यकाको ट्राफिक समस्या निराकरण गर्ने काम चुनौतीपूर्ण छ । महाशाखाले चाँडै विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ,’ प्रवक्ता एसएसपी रञ्जितकारले भने, ‘पहिलो चरणमा सडकमा खटिने ट्राफिक प्रहरीको संख्या बढाउने र मोबाइल टोली परिचालन गरिनेछ ।’

कति गुड्छन् उपत्यकाभित्र सवारीसाधन ?
-यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा मात्रै १० हजार तीन सय ठूला बस गुड्छन् ।
-मिनीबसको संख्या ९५ सय छ ।
-चक्रपथ क्षेत्रमा सेतो र नीलो गरेर पाँच हजार माइक्रोबस र
-टेम्पो २५ सय २८ वटा गुड्छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !