२२ बैशाख २०८१, शनिबार

युवाको सहयोग : मजदुरलाई राहत


खाद्यान्न

चन्द्रौटा, २० चैत । शिवराज नगरपालिका बनकट्टीकी शान्ति परियारले मजदूरी गरेर जिविकोपार्जन गर्दै आउनुभएको थियो । मुलुकमा लकडाउन भएपछि उहाँलाई जिविकोपार्जनमा समस्या भएको छ ।

ज्यालादारीमा काम गरेर घरखर्च चलाउँदै आएको उहाँको परिवारलाई अहिले साँझबिहान के खाने भन्ने चिन्ता छ । तर चन्द्रौटाका युवाले अति आवश्यक सामग्री सहयोग गरेपछि उहाँलाई केही राहत मिलेको छ । चामल पिठो, दाल, तेल, मसला, आलु, साबुन लगायतका दैनिक उपभोग्य सामग्री पाएपछि केही दिनका लागि भोकै बस्नु नपर्ने परियारले बताउनुभयो ।

उहाँ मात्र होइन, शिवराज नगरपालिका—५ कुदरवेटवाका कुल्लु चमारलाई पनि कोरोना भाइरसको सङ्क्रमण लागेर मर्नुभन्दा जिविकोपार्जनको चिन्ता बढी छ । “रोग आयो भन्ने हल्ला सुनेको छु, तर मलाई यही रोगका कारण काम गर्न नपाउँदा परिवार पाल्न समस्या छ”, उहाँले दुखेसो पोख्नुभयो, “दाल चामल सहयोग आएको थियो, त्यसैले धानेको छु, काम गरेर खाने मान्छेलाई अहिले सारै समस्या प¥यो ।” युवाको राहत सामग्री पाएपछि उहाँलाई पनि केही राहत मिलेको छ ।

शिवराज नगरपालिका—८ का खेतुलाल रानालाई पनि छाक टार्न मुस्कील छ । काम गर्न गएका छोराछोरीहरु पनि अलपत्र परेको गुनासो गर्दै उहाँले स्थानीय सरकारले केही राहत दिए सहज हुने बताउनुभयो । वडा अध्यक्ष मार्फत नगरपालिकासँग भोक भोकै मर्न नपरोस भनेर राहत माग गरेको उहाँको भनाइ छ । तत्कालका लागि भने चन्द्रौटाका युवाले दिएको खाद्यान्नले गुजारा चलेको रानाको भनाइछ ।

शिवराज नगरपालिका— ५ चन्द्रौटाका युवा बिजय जयसवाल र विष्णु हमालले ३२ परिवारलाई राहत सामग्री वितरण गर्नुभएको हो । राहत सामग्री वितरणले मजदूरहरुलाई केही दिनका लागि छाक टार्न सहज भएको छ । गाउँमा बस्ने मजदूरहरुलाई बजार आउन समस्या र आतिआवश्यक सामग्री खरिदका लागि रकम नहुँदा उनीहरुको दैनिकी चलाउन समस्या भइरहेको छ ।

त्यस्तै युवा मेनाज खानको नेतृत्वमा नगरका सौनी, डिहवा, बरगदवा, कुदवेटवा, गडगौडा, प्रसिया, बनकट्टी लगायतका ठाउँमा रहेका अतिविपन्न ३२ परिवारलाई राहत वितरण गरिएको छ । राहत पाएपछि मजदूरहरु खुशी भएपनि लकडाउनको समयअवधि थपिएको अवस्थामा परिवार पाल्न समस्या हुने उहाँहरुको गनासो छ । दैनिक काम गरेर खाने परिवारहरुको अहिले अवस्था नाजुक देखिएकाले विभिन्न व्यक्तिसँग सहयोग मागेर राहत वितरण गरिएको खानले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !