४ जेष्ठ २०८१, शुक्रबार

आज मध्य रातदेखि अन्तर्राष्ट्रिय उडान बन्द : आन्तरिक यथावत्


काठमाडौँ, ९ चैत । कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्य रातिदेखि लागू हुनेगरी ९ दिनसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको जनाएको छ । प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तर्राष्ट्रियतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसर त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान स्थगन हुने जनाउनुभएको थियो ।

आजै रातिदेखि कुनै पनि यात्रुवाहक जहाज नेपाल प्रवेश गर्न नपाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशबाट विनायात्रुको जहाज भने नेपाल आउन पाउनेछन् । यहाँबाट विदेश जाने यात्रुलाई ती वायु सेवा कम्पनीले लैजान सक्नेछन् । अन्तर्राष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने महानिर्देशक पोखरेलको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर सहित १९ वायु सेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !