२२ बैशाख २०८१, शनिबार

लिफ्टिङमार्फत खानेपानी


drink-water

सर्लाही, २९ फागुन । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित सानो कौवामा पर्ने धारा खोल्सीबाट सोलारका माध्यमले लिफ्टिङ प्रविधिबाट सर्लाहीको वाग्मती नगरपालिकाका बासिन्दालाई खानेपानीको व्यवस्था गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाको समन्वय एवं वाग्मती नगरपालिकाको आर्थिक लागतमा दुवै स्थानीय तहका गरी ६६२ घरधुरीका तीन हजार पाँच सय जनसङ्ख्यालाई खानेपानीको व्यवस्था मिलाइएको वाग्मतीका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो ।

हरिहरपुरगढी–६ स्थित धाराकुवामा इन्टेकमा जम्मा गरिएको पानीलाई सोलारबाट चल्ने मोटरबाट झण्डै एक किलोमिटरमाथि कौवाडाँडामा पाइपबाट पानी चढाइने र आसपासका राँगेचुरी, सानो कौवा, कौवा भञ्ज्याङ, दापडाँडा, धिमिले डाँडालगायत टोलका बासिन्दालाई खानेपानी वितरणको तारतम्य मिलाइएको खानेपानी उपभोक्ता निर्माण समितिका संयोजक तेरसाङ लामाले बताउनुभयो ।

सोलार सिस्टमको प्रयोगबाट झण्डै हजार मिटर तल सिन्धुलीको धारा खोल्सी तथा कुवामा रहेको पानीलाई लिफ्टिङ गरेर कौवा डाँडामा पु¥याउने र कौवाडाँडामा निर्माण हुने रिजर्भ ट्याङ्कबाट स्थानीयवासीको घरघरमा पानी पु¥याउने लक्ष्य रहेको लामाले बताउनुभयो । तलबाट कौवाडाँडासम्म पानी चढाएर परीक्षण गरी सकिएको र अब निकट भविष्यमै कौवाडाँडामा रिजर्भ ट्याङ्क निर्माण गरेर स्थानीयवासीलाई खानेपानीको व्यवस्था मिलाइने नगरप्रमुख थापाले बताउनुभयो । खानेपानीको अत्यन्त समस्या रहेको उक्त स्थानमा पानीको व्यवस्थापन हुने भएपछि स्थानीय हर्षित भएका छन् ।

रु ४० लाख खर्च भइसकेको उक्त प्रविधि प्रयोगका लागि पानी डाँडासम्म लैजान पाइपलाइन विस्तार र मुहानको व्यवस्थापन तथा सोलार प्रविधि जडानको कामसमेत सम्पन्न भइसकेको हरिहरपुरगढीका अध्यक्ष कारसाङ लामाले बताउनुभयो । अध्यक्ष लामाले निकै तल खोल्सीमा रहेको पानी डाँडासम्म पु¥याउन निकै समस्या भएको बताउनुभयो । उक्त क्षेत्रमा पानीको सहज व्यवस्थापन नहुँदा स्थानीयवासीले एक गाग्रो पानीका लागि दैनिक चार घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता छ ।

अत्यन्त विकट रहेकोे उक्त चुरे क्षेत्रका बस्तीबाट पानीसमेत खान नपाएर धेरै बसाइँ नै सरेर अन्यन्त्र गएका स्थानीयवासी आइतसिङ थिङले बताउनुभयो । सामान्य लगानीमा सो क्षेत्रमा पानीको व्यवस्था गर्न नसकिने भएकाले ठूलो लगानीको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको वाग्मती–१ का वडाध्यक्ष गम्भीर सिङ पाख्रिनले बताउनुभयो । स्थानीय निकायको निर्वाचनपछि विशेष गरी चुरे क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको सुविधालाई ध्यान दिँदै यातायात, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा नगरपालिका संवेदनशील रहेको नगरप्रमुख थापाको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !