१२ जेष्ठ २०८१, शनिबार

हरियाली बढाउँदै निजी वन


घोराही, १८ फागुन । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा श्रीलोचन लामिछानले १०१ कठ्ठा जग्गामा विभिन्न प्रजातिका बिरुवा रोप्नुभएको छ । उहाँले विसं २०४८ कात्तिक १० गते जिल्ला वनबाट निजी वनको स्वीकृत लिएर आफ्नो जग्गामा बिरुवा रोपेर हरियाली बनाउन शुरु गर्नुभएको हो ।

घोराही उपमहानगरपालिका–१६ का प्रेमराज लोहनीले आफ्नो जग्गामा निजी वन बनाउनुभएको छ । उहाँले पनि आफ्नो १३६ कठ्ठा जग्गामा विसं २०४३ तिरबाटै निजी वन बनाउन शुरु गर्नुभएको हो । अहिले पनि उहाँको ती जग्गामा रुख ठूल्ठूला भइसकेका छन् । यसैगरी घोराही–५ धर्नाकी सकुन्ताला श्रेष्ठले घोराही–७ सर्रामा रहेको आफ्नो साढे ५७ कठ्ठा जग्गामा निजी वन बनाउनुभएको छ भने, घोराही–१४ की विमला खत्रीले पनि आफ्नो तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ८० कठ्ठा जग्गामा निजी वन बनाउनुभएको छ ।

दाङमा उहाँहरुजस्ता करिव ३०० ले आफ्नो जग्गामा निजी वन बनाएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।

आफ्नो घरछेउमा रहेको एक कठ्ठादेखि करिब २५० कठ्ठासम्मको जग्गा व्यक्तिले निजी वन बनाएका छन् । जिल्लामा करिब चार हजार ८१ कठ्ठा अर्थात् १३८ हेक्टर निजी जग्गा वन बनिसकेको सोे तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक बर्षमा मात्र करिब दुइ दर्जन बढीले आफ्नो जग्गालाई निजी वनमा परिणत गरेका थिए ।

चालू आवमा कार्यालयले निजी वन दर्ता प्रक्रियालाई अगाडि बढाइ विभिन्न किसिमको सहयोगसमेत गर्दै आएको छ । कार्यालयका सूचना अधिकृत खिमबहादुर केसीका अनुसार कार्यालयले निजी वन लगाउनेलाई प्रोत्साहन तथा पुरस्कृत गर्ने कार्यक्रम राखेको छ । त्यस्तै निजी वन विकास तथा वृक्षरोपणका लागि केन्द्रीय वन नर्सरी, सेक्टर वन नर्सरी, इलाका वन नर्सरी तथा निजी नर्सरी सञ्चालकले वार्षिक बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !