१६ जेष्ठ २०८१, बुधबार

उत्कृष्ट मानवीय सेवा दिन प्रहरी महानिरीक्षकको आग्रह


महानिरीक्षक

काठमाडौँ १४ फागुन । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त पार्न निर्देशन दिनुभएको छ ।

उहाँले सर्वसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो । अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाइग्नोसिसको उहाँले निरीक्षण गर्नुभयो ।

यस्तै उहाँले मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभागलगायतको निरीक्षण गर्दै उपचाररत बिरामीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारीसमेत लिनुभयो ।

निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले उपचारका लागि आउने बिरामीका अपेक्षा पूर्ति गर्दै उत्कृष्ट मानवीय सेवा प्रदान गर्न केन्द्रित हुनुपर्ने बताउनुभयो । नेपाल प्रहरी अस्पताललाई आजको स्थितिसम्म ल्याउनको लागि अग्रजहरुको मेहनत, परिश्रम र लगनशीलता प्रशंसनीय रहेको चर्चा गर्दै अस्पतालको गुणस्तरमा थप वृद्धि गरी उत्कृष्ट सेवा प्रवाह गर्न दत्तचित्त भएर लाग्न उहाँले अनुरोध गर्नुभयो ।

अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै विशिष्ट योगदान गर्न उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीप्रतिको बोली, वचन तथा व्यवहारमा संवेदनशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सो अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको गतिविधि, उपलब्ध सेवा, चुनौती, योजना, पूर्वाधार विकासलगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !