६ जेष्ठ २०८१, आइतबार

बिरामी ओसारिने एम्बुलेन्समा चित्तल फेला


एम्बुलेन्स

बैतडी, २७ माघ । सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ । आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नंको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।

उहाँले इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जाँच गर्दा एम्बुलेन्समा चित्तल फेला परेको बताउनुभयो । चित्तल कहाँबाट ल्याइएको भन्ने खुल्न सकेको छैन । एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छन् । उक्त चित्तल वन कार्यालयलाई बुझाइएको र चालकलाई कानूनअनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिकमा डिलासैनीसहित १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !