१४ बैशाख २०८१, शुक्रबार

रामपुरको फोहर व्यवस्थापन प्रक्रिया अगाडि बढाइने


fohor

बेझाड, १८ पुस । रामपुर नगरपालिकामा समस्याका रूपमा रहेको फोहर व्यवस्थापन प्रक्रिया अगाडि बढाइने भएको छ । ‘रामपुरको फोहरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने समाचार यही पुस ५ गते राससमा प्रकाशित भएपछि फोहर व्यवस्थापनका लागि सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया गरिएको छ ।

समाचार प्रभावकै कारण फोहर व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको उद्यम चौतारी प्रालिले फोहर व्यवस्थापन गर्ने उपायका बारेमा नगरपालिकासँग छलफल तथा अन्तरक्रिया गरेको हो । नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरमा फोहरमैला व्यवस्थापन गर्न पटकपटक प्रयास गरे पनि नसकिएको बताउनुभएको छ ।

उहाँले नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद गरे पनि स्थानीयको असमझदारीका कारण व्यवस्थापन गर्न समस्या परेको बताउँदै तत्काल नै प्रक्रिया अगाडि बढाउने बताउनुभयो । “फोहर व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्रीको बन्दोबस्त नगरपालिकाले गर्नेछ, उद्यम चौतारी प्रालिसँगको सहकार्यमा छिटोभन्दा छिटो व्यवस्थापनमा लागेर सफा र सुन्दर रामपुर नगर बनाउनेछौँ”, नगर प्रमुख थापाले भन्नुभयो ।

रामपुरमा दिनहुँ निस्कने फोहरजन्य पदार्थ प्रशोधन गरी आयआर्जन बढाउन सकिने भए पनि व्यवस्थापन हुन नसक्दा आम्दानी खेर गएको छ । घरभित्रबाट निस्कने फोहरबाट प्राङ्गारिक मल बनाएर बोट बिरुवामा प्रयोग गर्न सकिन्छ । उद्यम चौतारी प्रालिका प्रबन्ध निर्देशक रिखिराम पौडेलले फोहरलाई प्रशोधन गरेर यसैबाट नगरपालिकाले प्रशस्त आम्दानी गर्नसक्ने बताउनुभयो । “फोहरलाई व्यवस्थापन गर्न नसक्दा पैसा खेर गइरहेको छ, फोहर पनि आयस्रोत हो भन्ने जनमानसमा ज्ञान छैन”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले व्यक्ति स्वयंले फोहरजन्य पदार्थले मानव स्वास्थ्यमा पार्ने असरबारे हेक्का नगर्दा फोहर व्यवस्थापनमा समस्या परेको बताउनुहभयो । प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले सकेसम्म दीर्घकालीनरूपमा निश्चित ठाउँमा फोहर व्यवस्थापन गर्न सकियो भने राम्रो हुने बताउनुभयो ।

सूर्योदय लघुवित्त संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले फोहरबाट प्राङ्गारिक मल उत्पादन गरी आयआर्जनको राम्रो माध्यम हुने भए पनि मानिसको बेवास्ता र चेतनाको अभावका कारण उचित व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँले स्याङ्जाको वालिङ नगरपालिकाले फोहर प्रशोधन गरेर प्रशस्त आम्दानी गरिरहेको र यसैबाट रोजगार गर्ने अवसर पनि मिलेको बताउनुभयो । जिल्लाकै भिरकोट नगरपालिका र पुतली बजार नगरपालिमा पनि उद्यम चौतारी प्रालिले सहकार्य गरेर फोहर व्यवस्थापनको काम शुरु गरेको छ ।

रामपुरको मुख्य बजार बेझाड हो । बेझाड बजारका अतिरिक्त विजयपुर, किसानवारी, इस्लामपुर क्षेत्रमा निस्कने फोहर नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा वातावरण प्रदूषण बढिरहेको छ । बेझाड बजार क्षेत्रमा निस्कने फोहरमैला नगरपालिकाको प्राङ्गणमा नै फाल्ने गरिएको छ । बेझाड बजार क्षेत्रबाट शनिबारबाहेक हरेक दिन टिपरमा सङ्कलन गरेर ल्याइएको फोहरमैला नगरपालिकाको प्राङ्गणमा नै फालिने गरिएको छ । यसले यहाँ दुर्गन्ध बढाएको छ ।

रामपुरमा हुने ठूलाठूला महत्वपूर्ण कार्यक्रम यहीँ गरिन्छ । फोहरमैला फालिएको ठाउँ नजिकै राधाकृष्ण मन्दिर, शिवालय मन्दिर रहेका छन् । बेझाड बजार क्षेत्रमा जनघनत्व बढी रहेकाले यहाँ दैनिक तीन टिपर जति फोहरमैला निस्कने गर्छ । बेझाडको मुख्य बजार चोक, बाङ्गेपसल, सहकारी पथ, नहरअफिस, हुलाक, पेट्रोलपम्प, बसपार्क, स्कुलरोड, रामपुर आवासीय बोर्डिङ, भुपु बोर्डिङ, होटल श्रीनगरसम्म घर घरमा पुगेर टिपरमार्फत सङ्कलन गरिएका फोहरजन्य सामग्री नगरपालिका परिसरमा फाल्ने काम भइरहेको छ ।

मासिक एक घरधुरीबाट रु १०० शुल्क लिएर फोहर सङ्कलन गर्ने काम भइरहेको बेझाड बजार फोहरमैला व्यवस्थापन समिति संयोजक तथा रामपुर नगरपालिका–५ का सदस्य काशीनाथ रेग्मी बताउनुहुन्छ । यहाँ ५५० घरधुरीको फोहर सङ्कलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । मासिक करिब रु ५० हजार जति आम्दानी हुने गरेको छ ।

फोहरमैला सङ्कलनबाट उठेको रकम फोहरमैला व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद, तीन जना कर्मचारीलाई तलबमा खर्च हुने गरेको उहाँले राससलाई जानकारी दिनुभयो । बजार क्षेत्र नजिकै मन्दिर परिसर, नगरपालिका परिसर नजिकै फोहरमैला फ्याँक्ने कार्यले रामपुरको वातावरणमा प्रभाव पारेको बजारवासी दुर्गाप्रसाद पोखरेल बताउनुहुन्छ ।

फोहरमैला फालिएको बाटो भएर नगरपालिका कार्यालय, मालपोत र नापी कार्यालयमा सेवा लिन जान बाध्य नागरिक मुख थुनेर हिँड्नुपर्ने अवस्था रहेको बेझाड बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठ बताउनुहुन्छ । नगरपालिकाभित्र निस्कने फोहरमैला व्यवस्थापनका लागि विसं २०७१ मा नगरपालिका–४ को गाबुडाँडामा २५ रोपनी जग्गा लिइएको छ । त्यहाँका केही स्थानीयको असमझदारीका कारण फोहरमैला व्यवस्थापनको काम अगाडि बढ्न सकेको छैन ।

केही वर्ष अघि रामपुर साना शहरी खानेपानी आयोजनाबाट फोहरमैला व्यवस्थापन शीर्षकमा आएको रु एक करोड रकम काम गर्न नसकेर फ्रिज भएर गएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने बताउनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !