९ जेष्ठ २०८१, बुधबार

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै


मुद्दा

काठमाडौँ, १४ पुस । बूढानीलकण्ठ नगरपालिका न्यायिक समितिमा आर्थिक वर्ष २०७५–७६ मा ७५ उजुरी दर्ता भएको छ । समितिमा परेका उजुरी सबैभन्दा बढी जग्गा विवादको रहेको समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताउनुभयो । उहाँका अनुसार अधिकांश उजुरी साँधसिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलान, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी पर्ने गरेको छ ।
“सकेसम्म उजुरीहरु मेलमिलापको मध्यमबाट नै टुङ्ग्याउने गरेका छौँ, मिल्दै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरेका छौँ”, उपप्रमुख राईले भन्नुभयो । उहाँका अनुसार आव २०७५÷७६ मा परेका ७६ उजुरीमध्ये ५३ मिलापत्र गरिएको छ । छ वटालाई अदालतमा सिफारिस गरिएको छ र १६ वटा फैसला भएको छ ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्ध बिच्छेद, ढल बाटो निकास, साँधसिमाना मिचेको, ठगी, लेनदेनलगायत उजुरी परेको छ । आव ०७५÷७६ मा ढल, बाटो निकासका चार उजुरी दर्ता भएको छ । त्यस्तै लेनदेन, बैनासम्बन्धी सात, वातावरण ध्वनि प्रदूषसम्बन्धी चार, साँधसिमाना मिचेको सात, अन्तरकालीन आदेश एक, शान्तिसुरक्षा र ज्याला पाँच, घर पर्खाल निर्माण सम्पन्न छ, ठगीका आठ, पारिवारि तथा सम्बन्धबिच्छेदका २० र अन्य विविध आठ उजुरी दर्ता भएको छ ।

त्यस्तै चालु आव २०७६/७७ मा पनि उजुरी आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । चालु आवको साउनयता नगरपालिकामा ४० उजूरी दर्ता भएका छन् । दर्ता भएका धेरैजसो उजुरी घरजग्गा विवादसम्बन्धी छ । नगरपालिकामा चालु आवमा आठ घरजग्गा विवादको उजुरी, दुई सम्बन्धबिच्छेद, पाँच पारिवारिक विवाद, पाँच घरबहाल, एक शान्तिसुरक्षा ज्याला, दुई गालीगलोजसम्बन्धी र ११ विविध उजुरी लिखित रुपमा दर्ता भएको छ । समितिमा दुई कानुन व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका उजुरीको सुनुवाइका लागि प्रत्येक मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !