२० जेष्ठ २०८१, आइतबार

उत्कृष्ट कृषक पुरस्कृत


Nepalpatra

८ असार, रामपुर, पाल्पा  । निस्दी गाउँपालिकाका तीन जना कृषकलाई उत्कृष्ट कृषक पुरस्कृत गरिएको छ । 

गाउँपालिकाभित्रका तीन जना उत्कृष्ट व्यावसायिक कृषक निस्दी गाउँपालिका कृषि शाखाद्वारा बिहीबार सम्मानित भएका हुन् । पुरस्कृत हुने कृषकमा निस्दी–२ सहलकोटका यमबहादुर मश्राङ्गी, निस्दी–५ गल्धाका शेरबहादुर सोती र निस्दी–७ ज्यामिरेका नरवीर दर्लामी रहनुभएको छ ।

पुरस्कृत हुने कृषकलाई गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले नगद रु पाँच÷पाँच हजारसहित दोसल्ला र कदरपत्रले सम्मान गर्नुभयो । कार्यक्रममा अध्यक्ष सारुले गाउँपालिकाको विकासको आधार कृषि र पर्यटन भएको बताउँदै अब व्यावसायिकतातिर उन्मुख हुनु आवश्यक रहेको बताउनुभयो ।

हुमीकुमारीलाई स्वर्णिम प्रतिभा पुरस्कार 

हेफर इन्टरनेशनल नेपालले ग्रामीण महिला किसान हुमीकुमारी पाँडे मगरलाई स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरेको छ । हेफर इन्टरनेशनल नेपालको पश्चिमाञ्चल कार्यक्षेत्रका आठ जिल्लाबाट छनोट भई हुमीकुमारी पाँडे मगर पुरस्कृत हुनु भएको हो ।

संघीय सासंद दलबहादुर राना, ५ नं प्रदेश सांसद नारायणप्रसाद आचार्य, हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मी, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले संयुक्तरुपमा रु ७० हजारको चेक तथा सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

पुरस्कृत हुमीकुमारीले हेफर इन्टरनेशनल नेपालबाट उपहारस्वरुप प्राप्त १० वटा बाख्रा, प्राविधिक सहयोग र घाँसबाट दुई वर्षमै व्यावसायिक बाख्रापालन गरी वार्षिक रु अढाई लाख कमाउन सफल हुनु भएको छ । हुमीकुमारीले बंगुरपालन, माछापालनका साथै समाज सेवासमेत गर्दै आउनुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !