९ जेष्ठ २०८१, बुधबार

प्रादेशिकस्तरको कृषि महोत्सव सम्पन्न


Jumla Krishi mahatshob

२५ वैशाख, सुर्खेत  । जुम्लामा वैशाख १३ देखि २४ गतेसम्म सञ्चालित प्रादेशिकस्तरको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताउनुभयो । महोत्सव ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ सफल पार्ने आधार बनेको उहाँको भनाइ थियो ।

“महोत्सवबाट कर्णालीको धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुगेको छ,” उहाँले भन्नुभयो ।

पूर्व पशुपक्षी राज्यमन्त्री गोमा कुँवरले भावी दिनमा जुम्लालाई पर्यटकीय गन्तव्यका रुपमा रुपमा स्थापित गरिनुपर्ने बताउनुभयो ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने (महत)ले महोत्सवबाट सोचेभन्दा बढी उपलब्धि भएको बताउनुभयो । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले सबै गाउँपालिकाको कला संस्कृतिलाई उजागर गर्न महोत्सवले सघाएको प्रतिक्रिया दिनुभयो ।

महोत्सव आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले महोत्सवले यहाँको खस सभ्यता, पहिरन, खाना परिकार, पर्यटकीय सम्भावना प्रवद्र्धनमा अधिकतम सहयोग पुगेको बताउनुभयो । एक लाख नागरिकले महोत्सवको अवलोकन गर्नाका साथै रु एक करोड ६० लाख कारोवार भएको उहाँले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !