'डोजरे विकासले खोसिदियो ग्रामीण सौन्दर्य’ Nepalpatra 'डोजरे विकासले खोसिदियो ग्रामीण सौन्दर्य’
१ आश्विन २०७८, शुक्रबार

‘डोजरे विकासले खोसिदियो ग्रामीण सौन्दर्य’


डोजरे विकास

गलेश्वर । डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना–कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् । एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती, गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का अहिले नासिन थालेका छन् ।

गाउँघरतिर ‘बजेट सक्ने विकास’ भनेर बोलिने डोजर चालक नै इञ्जीनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौँ पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास भएको बताइएको छ । जीवन्त यस्ता सम्पदाको संरक्षणका लागि सम्बन्धीत पक्षले वास्ता नगरेको स्थानीयवासीको भनाइ छ । विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन जथाभावी खनिएका मोटरबाटोका कारण बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका तीन दर्जन बढी ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिएका पाइएको छ ।

यस्ता प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क अद्यावधिक गर्ने कुनै निकाय नभएता पनि स्थानीय तहहरुले बल्ल आ–आफ्नो क्षेत्रमा पहिला भएका र अहिले नरहेका यस्ता सम्पदाको जानकारी लिन सुरु गरेका छन् ।

गाउँगाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय पाटी, पैवा, सत्तल, देवल, धारा, कुवा र चौतारी पोखरी भत्काइएको वा पुरिएको बेनीका दण्डपाणि उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “विकासको नामबाट विनास भएको छ त्यसले दीर्घकालसम्म क्षति पु¥याइरहने छ । सडकको नाममा डोजरले खेतका गरा, कान्ला र उर्वर जमिन मात्रै भत्काएको छैन, आफ्ना पुर्खाको कीर्ति, संस्कृति, सभ्यता र हाम्रो परम्पराको जग पनि हल्लाएको छ, यसले हाम्रो ग्रामीण सौन्दर्य पनि खोसिदिएको छ ।”

तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक देबल, मठ, थुम्का, सत्तल, चौतारी, पोखरी, कुवा र इनार अहिले खण्डहरमा परिणत भएका स्थानीयवासीले बताएका छन् । ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिबम मल्लले बनाएको फूलपाती , डम्मरा र गौडालाउने चौतारी तथा लामागराको पुर्खे सत्तल, ज्यामरुककोटको देवल, हाँडेभिर पश्चिमको पाती चढाउने थुम्कोलगायत दर्जनौंँ सम्पदा नासिएका बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

त्यसैगरी ऐतिहासिक महत्व बोकेका खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा र पोखरीको पनि अस्तित्व सङ्कटमा परेको छ । मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

एक घण्टाको बाटो दुई मिनेटमा छोट्टियो

म्याग्दी र बागलुङको सिमानामा भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौँसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौँ गाउँका बासिन्दाले अब भने एक घण्टाको बाटो दुई मिनेटमा नै पार गर्न सक्ने भएका छन् । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सजिलो भएको हो ।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना) मा बग्ने ढाडेनीखोलामाथि झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत सो पुल निर्माण गरेको हो । रु एक करोड ३९ लाख लागतमा निर्माण भएको सो पुलको लम्बाइ २६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिनुभयो ।

पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायतका गाउँका सयौँ मानिसलाई आवतजावत गर्न सहज भएको स्थानीयवासी युवा भीमबहादुर घिमिरेले बताउनुभयो ।

बागलुङको पन्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भएको छ । ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नुपर्ने वाध्यतामा रहेका दुवै जिल्लाका बासिन्दा पुल बनेपछि हर्षित भएका छन् ।

पुल निर्माणपछि कृषकलाई मात्रै होइन विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउन बाध्य चनौटेका विद्यार्थी अब घरबाट निस्केको १५ मिनेटमा विद्यालय पुग्ने भएका छन् ।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भई हाल फापरखेतमा बस्दै आउनुभएका प्रवेश कुवँरले बताउनुभयो । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दा बढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीयवासी शिव घिमिरेले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा