६ जेष्ठ २०८१, आइतबार

शव व्यवस्थापन तयारी


कोरोना सङ्क्रमणबाट मृत्यु File Photo

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न तयारी थालिएको छ । जिल्लामा मृत्युदर बढेको तथा काठमाडौँको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक शव व्यवस्थापन गर्न सरोकारवाला निकाय स्थानको व्यवस्थापनमा लागेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जिल्लामा शव व्यवस्थापन गर्न यसअघि वैकल्पिक तयारीको निर्णयसमेत गरेको छ । “जिल्लामै मृत्युदर बढ्दै गए तथा काठमाडौँको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएमा वैकल्पिक रुपमा शव व्यवस्थापनको तयारी अवस्थामा रहेका हौँ”, केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो ।

पोखरेलका अनुसार जिल्लास्थित अस्पतालमा उपचाररत कोरोनाको बिरामीको मृत्यु भएकाको काभ्रेपलाञ्चोकमै शव व्यवस्थापन गर्नसमेत थप तयारी गरिनेछ । सदरमुकाम धुलिखेललगायत आसपासका बनेपा र पनौतीमा हालैमात्र कोरोनाबाट मृत्यु भएकाको केही शव स्थानीय आर्यघाटमै जलाइएको पोखरेलले जानकारी दिनुभयो ।

केन्द्रद्वारा स्थानीय तहलाई कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन स्थल पहिचान गरी पठाउन आग्रह गरेअनुसार जेठको पहिलो साता स्थानीय तहबाट पहिचान भई आएको छ स्थानमा शव व्यवस्थापन गर्न सकिने जनाइएको छ । “सदरमुकामभन्दा टाढाका स्थानीय तहले मात्रै स्थान पहिचान गरी पठाएका छन्, शव टाढा लैजान थप जनशक्ति र खर्च लाग्ने भएकाले नजिकको पहिचानमा लागेका छौँ”, पोखरेलले भन्नुभयो ।

कोशीपूर्वस्थित चौंरीदेउराली गाउँपालिकाले गतसाता कोरोनाको दोस्रो लहर शुरु भएयता पहिलोपटक स्थानीय एकको मृत्यु भएपछि स्थानीयस्तरमै शव व्यवस्थापन गरेको थियो । सदरमुकामभन्दा टाढा रहेका पाँचखाल, मण्डनदेउपुर, चौंरीदेउराली, भुम्लु, खानीखोला र रोशीले मात्रै शव व्यवस्थापन गर्न सकिने स्थान पहिचान गरी पठाएको केन्द्रले जनायो । हालसम्म काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न सदरमुकाम धुलिखेलस्थित कालीजङ्ग गणका नेपाली सेनाद्वारा काठमाडौँको पशुपतिस्थित शवदाह गृह लैजाने गरिएको छ ।

यसैबीच, पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोक तथा अन्य जिल्लाको समेत गरी सरदर दैनिक चार नागरिकको मृत्यु हुनेगरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । डेढ सयको हाराहारीमा सङ्क्रमित थपिन थालेका छन् भने उही सङ्ख्यामा सङ्क्रमण मुक्त पनि भइरहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा १५१ मा सङ्क्रमण पुष्टी भएसँगै कोरोना सङ्क्रमणको दोस्रो लहर सुरुभएयता जिल्लामा हाल दुई हजार १८३ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये बनेपा नगरमा ३०३, धुलिखेलमा ३२९, पनौतीमा २२५, पाँचखालमा ३२५, नमोबुद्धमा ८७, मण्डनदेउपुरमा १८० तथा रोशी गाउँपालिकामा १५५, चौंरीदेउरालीमा ४३, तेमालमा १०३, भुम्लु १९९, खानीखोलामा ३८, बेथानचोकमा ११५ र महाभारत गाउँपालिकामा ८१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । कुल सङ्क्रमितमध्ये ९३ प्रतिशत अर्थात् दुई हजार ३० सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १३८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !