पुनःनिर्माणका सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुने Nepalpatra पुनःनिर्माणका सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुने
१२ माघ २०७७, सोमबार

पुनःनिर्माणका सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुने


काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी हुने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने वेविनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीले प्राधिकरणले तयार पार्न लागेको संस्थागत पत्र (कम्पेडियम) लाई पूर्णता दिन मद्दत मिलेको बताउनुभयो । उहाँले पुनःनिर्माणका अनुभव र सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

प्राधिकरणले तयार गर्न लागेको आफ्नो संस्थागत पत्र (कम्पेण्डियम) को तयारीका सिलसिलामा तयार प्रारम्भिक खाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, मुख्य सरोकारवाला तथा अभ्यासकर्ताबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको थियो ।

प्राधिकरणले आयोजना गर्ने नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेगरी छ वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । शनिबार क्रमशः जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुत भएका छन् ।

पहिलो सत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा प्राधिकरण, विभिन्न सरकारी तथा गैरसकारी निकायबाट भएका पहलबारे प्राधिकरणका कार्यकारी समिति सदस्य डा. विष्णु भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभयो । भण्डारीले कार्यपत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा १० वटा मन्त्रालय र ४७ वटा साझेदार संस्थाको सहयोगमा करिब चार लाख ६० हजार घरधुरीमा पुगिएको उल्लेख गर्नुभयो । भण्डारीको पत्रमाथि विश्व बैंकका ज्यास्मिन राजभण्डारी र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का विजय सिंहले टिप्पणी गर्नुभएको थियो ।

दोस्रो सत्रमा भूकम्पलगत्तै भएको उद्धार तथा राहतका बारेमा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पाखरेलले एक प्रस्तुतीकरण दिनुभयो । पोखरेलको कार्यपत्रमाथि युएनडिपीका रामराज नरसिम्हा र नेपाल रेडक्रस सोसाइटीका विपुल न्यौपानेले टिप्पणी गर्नुभएको थियो ।

तेस्रो सत्रमा पुनःनिर्माणका लागि भएको सुशासन एवं संस्थागत प्रबन्धमाथि गहन छलफल भएको थियो । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणजस्ता विशेष उद्देश्यका संस्थाले तुलनात्मक प्रभावकारी नतिजा दिनसक्ने देखिएको उल्लेख गर्नुभयो ।

प्रस्तुतिमाथि पूर्व मुख्यसचिव लीलामणि पौड्याल, युरोपेली युनियनका मार्को जेमरले टिप्पणी गर्दै सुझाव दिनुभयो । पूर्व मुख्यसचिव पौड्यालले प्राधिकरण निर्माणको बहस हुँदा आफूले अर्थ र सूचनाको कोष रहने र सबै विषयमा निर्णय गर्नसक्ने विशेष संस्था आवश्यक भएकोमा जोड दिएको स्मरण गर्नुभयो ।

कार्यक्रमको अन्तिम सत्रमा प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनःनिर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको नेतृत्व गरिरहनुभएका प्रा डा गोविन्द नेपाल, डा विश्व पौडेल र डा रुद्र सुवालले अध्ययनको प्रगति अवस्था तथा अनुसन्धानमा अपनाइने प्रणालीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

तीनै जनाको प्रस्तुतिमाथि विश्व बैंकका कामरान अकवर, पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ नाइजल फिसर एवं अर्थशास्त्री विशाल थापाले टिप्पणी गर्नुभएको थियो । वेविनारको पहिलो दिन निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन एवं पूर्वाधार पुनःनिर्माणमाथि सातवटा कार्यपत्र प्रस्तुत भएका थिए । ती कार्यपत्रमाथि ११ जना टिप्पणीकर्ताले सुझाव प्रदान तथा पृष्ठपोषण दिनुभएको थियो ।

वेविनारमा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पुनःनिर्माण र पुनःस्थापनाका अभ्यासकर्ता तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !