१४ बैशाख २०८१, शुक्रबार

रुद्राक्ष व्यवसाय सङ्कटमा


१२ मुखी रुद्राक्ष

किमाथाङ्का, ३० भदौ । विश्वव्यापी कोरोना महामारीका कारण यो वर्ष रुद्राक्ष व्यवसाय सङ्कटमा परेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण रुद्राक्ष खरिद गर्ने व्यापारी भारत तथा चीनबाट आउन नसक्दा यो व्यवसाय सङ्कटमा परेको हो । विशेषगरी नेपालमा उत्पादित रुद्राक्ष भारत तथा चीनमा बिक्री हुँदै आएको छ । रुद्राक्षको मुख्य कारोवार हुने साउन र भदौ महिनामा नै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दीले यसको कारोवार ठप्प भएको रुद्राक्ष व्यवसायीको गुनासो छ ।

गत वर्ष रुद्राक्ष व्यापारबाट राम्रो आम्दानी गरेका व्यवसायी यो वर्ष भने करोडौंको लगानी डुब्ने हो कि भन्ने चिन्तामा रहेको रुद्राक्ष व्यवसायी राजकुमार घिमिरेले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीले चिनियाँ व्यापारी नेपाल आउने सम्भावना निकै कम रहेको उहाँकोे भनाइ छ । रुद्राक्ष खरिद गर्न गत वर्ष ३० भन्दा बढी चिनियाँ व्यापारी सङ्खुवासभा आएका थिए । यो वर्ष भने मुस्किलले १५ जना चिनियाँ व्यापारी यहाँ आइपुगेको व्यवसायी धिमिरेले बताउनुभयो । चिनियाँ व्यापारीले सङ्खुवासभाका विभिन्न स्थानमा किसानका रुद्राक्ष बगान नै ठेक्का लिएका छन् । कोरोना भाइरसको त्रासका कारण अधिकांश चिनियाँ व्यापारी रुद्राक्ष टिप्ने मुख्य सिजनमा सङ्खुवासभा आउन सकेका छैनन् । “गत वर्ष आफ्नो टोलीले रु २० करोड मूल्य बराबरको रुद्राक्षको कारोवार गरेका थियौं”, व्यवसायी धिमिरेले भन्नुभयो, “यो वर्ष मुस्किलले १०÷१२ करोड रुपैयाँको कारोवार हुने देखिन्छ ।”

गत वर्ष सङ्खुवासभामा रु दुई अर्बभन्दा बढी मूल्य बराबरको रुद्राक्षको कारोवार भएको रुद्राक्ष ब्यवसायी सङ्घका अध्यक्ष चक्रबहादुर बिसुङ्खेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण चिनियाँ र भारतीय व्यापारी सङ्खुवासभा आउने सम्भावना अत्यन्त न्यून हुँदा करोडौं रुपैयाँको लगानी डुब्ने देखिएको छ ।” विगतका वर्षमा चिनियाँ व्यापारीले सदरमुकाम खाँदबारी, तुम्लिङटार र चैनपुरलगायत होटल भरीभराउ हुन्थे । तर यो वर्ष कोरोना भाइरसका कारण होटल समेत सुनसान छन् ।” अघिल्लो वर्ष असारको अन्तिम सातादेखि रुद्राक्ष खरिद गर्न र ठेक्का लिएका रुद्राक्ष टिप्न चिनियाँ व्यापारी गाउँ गाउँ पुग्थें । यो वर्ष रुद्राक्ष टिप्ने बेला हुँदा समेत कुनै व्यापारी नआउँदा करोडौं रुपैयाँको लगानी गर्नेहरु आर्थिक समस्यामा पर्न थालेको अध्यक्ष बिसुङ्खेको भनाइ छ ।

गुणस्तरीय रुद्राक्ष फलाउन धेरै व्यवसायीले गाउँ गाउँका रुद्राक्ष ठेक्कामा लिएर बोटमा औषधि लगाएका छन् । बाँकी रकम बोटबाट टिपेपछि दिने शर्तमा व्यवसायीले अधिकांश रुद्राक्ष धनीलाई अग्रिम पेश्की दिएका छन् । न त पेश्की फर्कन्छ न त बेचेर आम्दानी गर्ने स्थिति नै छ । आफूले वर्षाैंदेखि रुद्राक्ष व्यवसायमा लगानी गरे पनि यो वर्ष जस्तो सङ्कट कहिल्यै नआएको ब्यवसायी देवराज पुरीले बताउनुभयो । गुणस्तरीय रुद्राक्ष फलाउने नाममा रु ५० लाख बढीको औषधि हालियो तर रुद्राक्षको बजार चम्कने कुनै सम्भावना छैन । यो वर्ष धेरै कृषक र व्यवसायीको लगानी डुब्ने अध्यक्ष बिसुङ्खेको भनाइ छ ।

ऋणपान गरेर भएपनि गाउँगाउँ पुगेर व्यवसायीले रुद्राक्षमा ठूलो लगानी गरेका छन् । वर्षाैंको कमाई एकैछाक हुनेगरी औषधि र मलजल गरेका छन् तर रुद्राक्ष खरिदका लागि चिनियाँ र भारतीय व्यवसायी आएनन् । अघिल्लो वर्ष फाट्टफुटट्ट मात्र औषधि प्रयोग हुँदै आएकोमा यो वर्ष धेरैले रुद्राक्ष बोटमा रु एक करोडदेखि पाँच करोडसम्मको औषधि र मल प्रयोग गरेका छन् । अधिकांश बोटमा लामो वर्षात्का कारण रुद्राक्ष अडिएको छैन । अडिएको रुद्राक्ष समेत बिक्री हुने सम्भावना नहुँदा धेरैको लगानी डुब्ने अवस्था रहेको खाँदबारी नगरपालिका–८ का व्यवसायी भिम कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले तीन सयभन्दा बढी बोट ठेक्कामा लिएर औषधि, मल र भिटामिन प्रयोग गरेको छु । तर चिनियाँ ब्यापारी नआउने भएपछि रुद्राक्षमा गरेको लगानी खेर जान अवस्था आएको छ ।” यसपाली चिनियाँ व्यापारी आउन सकेको भए रुद्राक्षको बोट ठेक्कामा करिब रु ३० लाखको लगानी भएपनि रु एक करोड जतिको व्यापार हुन्थ्यो भन्दै उहाँले यसपालि रुद्राक्षले मूल्य नपाउने प्राय निश्चित भएको बताउनुभयो ।

संखुवासभामा केही वर्षअघिदेखि रुद्राक्ष व्यवसायीले गाउँ गाउँका कृषकको रुद्राक्षको बोट नै वार्षिक रूपमा ठेक्कामा लिएर लगानी गर्दै आएका छन् । कतिपय नेपाली व्यवसायीले चिनियाँ व्यापारीसँग सहकार्य गरेरै कृषकको रुद्राक्ष बोटमा लगानी गर्दै आएका छन् भने कतिले आफ्नै मात्र लगानीमा पनि गाउँ गाउँका बोटमा रकम लगानी गरेका छन् । सङ्खुवासभा र भोजपुरको उत्तरी क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत रुद्राक्ष नै हो । धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने तथा बजार मूल्य पनि राम्रै पाउने भएपछि कृषकले खेतीयोग्य जमिन मासेर रुद्राक्ष खेती लगाउन थालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !