१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति सीको सम्मानको राजकीय भोजमा राष्ट्रपति भण्डारीको सम्बाेधन (पूर्णपाठ)


राष्ट्रपति भण्डारीको सम्बाेधन

असोज २५, काठमाडौँ । नेपालकी राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले नेपाल-चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छन् । चिनियाँ समकक्षी महामहिम सी चिनफिङको सम्मानमा आज आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उनले पञ्चशीलमा आधारित सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताइन् । साथै उनले भनिन्, “पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्या रहित छ।”

यस्तो छ सम्बाेधनकाे पूर्णपाठ

जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ,
चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरू,
भद्र महिला तथा सज्जनवृन्द,
शुभ सन्ध्या, नमस्ते ।

निकट छिमेकी मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधि मण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ ।

यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वर्षगाँठको शुभ अवसरमा भइरहेको छ । यस अवसरमा म महामहिम राष्ट्रपतिज्यू र चिनियाँ प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरु एवं सबै चिनियाँ मित्रहरुलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । साथै, शताब्दीका दुई महान लक्ष्य प्राप्त गर्न मित्रराष्ट्र चीनलाई पूर्ण सफलता मिलोस् भन्ने हाम्रो शुभकामना छ।

महामहिमको सक्षम नेतृत्वमा चीनले युगान्तकारी पहलहरु अघि सारेको छ। प्रगतिशील सुधार योजना, भ्रष्टाचार विरोधी अभियान तथा सुशासनको प्रभावकारी कार्यान्वयन महामहिमको ‘राष्ट्रिय पुनर्जागरण सहितको चिनियाँ सपना’को महत्वपूर्ण आयामहरु हुन् । विश्वका १५० भन्दा बढी राष्ट्रहरु तथा दर्जनौं संघसंस्थाहरु बेल्ट एण्ड रोड इनिसिएटिभको पक्ष बनेका छन्। नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादमा सी चिनफिङ विचारधारा जनता केन्द्रित विकासको एक महत्वपूर्ण दर्शन बनेको छ । चीनको विकासमा चिनियाँ नेताको सक्षम र दूरदर्शी नेतृत्व एवं परिश्रमी चिनियाँ जनताको साथ महत्वपूर्ण रहेको छ भन्ने मलाई लागेको छ ।

महामहिमज्यू,

गत अप्रिलमा मैले गरेको चीनको राजकीय भ्रमणको सम्झना मलाई ताजै छ। महामहिमको सुन्दर गृह नगर तथा रेशम मार्गको उद्गमस्थल सियान शहरबाट शुरु भएको मेरो भ्रमण अवधिभर म प्रति दर्शाइएको न्यानो स्वागत तथा आतिथ्यताका लागि म कृतज्ञ छु ।

उक्त भ्रमणका अवसरमा महामहिमसँग भएको भेटवार्ताबाट नेपाल–चीन सम्बन्धलाई थप ऊर्जा प्रदान गर्न मद्दत पुगेको मैले विश्वास लिएको छु। भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेज मध्ये पारवहन तथा यातायात सम्झौताको प्रोटोकलले चीनका तीनवटा भू–बन्दरगाह तथा चारवटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको छ ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोश्रो बेल्ट एण्ड रोड फोरममा मेरो सहभागिता तथा सम्बोधनले नेपालको विकासको आकांक्षालाई मुखरित गर्न मद्दत पुगेको मैले ठानेको छु ।

उक्त फोरमको लिडर्स राउण्ड टेबलको समापनमा जारी भएको सयुक्त विज्ञप्तिमा नेपाल–चीन हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल–चीन सीमापार रेलमार्ग समावेश भएका छन्। यसबाट भूपरिवेष्ठित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्नेछ ।

यस सन्दर्भमा म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सन् २०१६ र २०१८ मा सम्पन्न चीनको भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिन पुर्‍याएको योगदानको स्मरण गर्न चाहन्छु ।

महामहिमज्यू,

नेपाल र जनवादी गणतन्त्र चीन हिमाल तथा नदीहरुद्वारा जोडिएका छन्। हामीबीच सदियौंदेखि सामाजिक–सांसकृतिक सम्पर्क रहिआएको छ। चिनियाँ भिक्षु फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सम्बन्ध एवं दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन्। पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ। हाम्रो सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तै उचा छ । पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त संभावनाहरु छन्।

महामहिमज्यू,

नेपालको लुम्बिनी गौतम बुद्धको जन्म स्थल मात्र नभएर बौद्ध दर्शनको उद्गम स्थल पनि हो। बुद्धका शाश्वत उपदेशहरुले मानव जातिलाई शान्ति, सहिष्णुता र सह–अस्तित्वको मार्गदर्शन गरेका छन्। तसर्थ, लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्वपूर्ण सहयोगको अपेक्षा गरेका छौं ।

चीनले सदैव नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नुका साथै नेपाली जनताले छनोट गरेको विकासको पथलाई समर्थन गर्दै आएको छ ।

नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ। नेपाली भूमि चीनको हित विरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिहरुका लागि प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धतालाई व्यवहारमा उतार्न हामीले सबै प्रकारका उपायहरु अवलम्बन गर्दै आएका छौं ।

सीमा वारपार कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने कुरामा हामीले जोड दिँदै आएका छौं। नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन्। रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोत र साधनको परिप्रेक्षमा नेपालीहरुको चाहना छिटै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।

महामहिमज्यू,

महामहिमसँग यस अघि भएको छलफलबाट अभिप्रेरित हुँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि मित्रराष्ट्र चीनसँगको सहयकार्यलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं। हामीले जतिसक्दो जाँछो अति कम विकसित मुलुकबाट स्तरोन्नत हुँदै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकका रूपमा परिणत हुने उद्देश्य राखेका छौं । यस उद्देश्य प्राप्तिका लागि हाम्रो आन्तरिक श्रोत साधन पर्याप्त नहुने हुँदा हामीलाई वैदेशिक लगानीको खाँचो छ । हामी चिनियाँ लगानीकर्तालाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकास लगयात सामाजिक क्षेत्रमा लगानी गर्न आव्हान गर्दछौं । सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ ।

भुकम्प पश्चातको पुनर्निर्माणमा चनिले पुर्‍याएको उदार सहयोगको हामी उच्च प्रशंसा गर्दछौं । यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा गरेका छौं । जलवायु परिवर्तनका कारण हाम्रो पर्वतीय पर्यावरण र अर्थतन्त्र संवेदनशील बनेको छ । तसर्थ, पर्वतीय पर्यावरण संरक्षण गर्दै अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय प्रयास केन्द्रिकृत गर्ने उद्देश्यले आगामी वर्ष अप्रिल महिनामा काठमाडौंमा ‘सगरमाथा संवाद’ को आयोजना गर्ने तयराी गरिरहेका छौं । सो कार्यक्रममा चीन सरकारको उच्च तहबाट प्रतिनिधित्व हुने अपेक्षा गरेका छौं ।

महामहिमज्यू,

शान्ति, स्थायित्व र विकासका लागि बहुपक्षीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र चीनसँगै उभिंदै आएका छन् । साझा चासोका क्षेत्रीय सवालहरूमा हाम्रो सहकार्य जारी छ । विधिमा आधारित विश्व व्यवस्थाले चुनौति व्यहोर्नु परेको वर्तमान अवस्थामा विकासोन्मुख राष्ट्रहरूबीचको ऐक्यबद्धता र सहकार्य अपरिहार्य छ । शान्तिपूर्ण, न्यायोचित तथा समावेशी विश्व व्यवस्था निर्माणका लागि चीनले खेल्दै आएको सकारात्मक भूमिकाको हामी प्रशंसा गर्दछौं ।

महामहिमज्यू,

भूगोलले नेपाल र चीनलाई निकट छिमेकी बनाएको छ । इतिहास, संस्कृति र जनस्तरको सम्बन्धले हामीलाई घनिष्ठ मित्र बनाएको छ । व्यापार, लगानी तथा आर्थिक अन्तर्निर्भिरताले हामीलाई साझा भविष्यका लागि सहयकार्य गर्ने बलियो साझेदार बनाएको छ । दुवै देश र जनताको हितमा हुने गरी मित्रराष्ट्र चीनसँगको समग्र सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन हामी प्रतिबद्ध छौं ।

यिनै शब्दहरूका साथ म,

महामहिमको सुस्वास्थ्य र खुशीका लागि,

नेपाल र चीनबीच बलियो मित्रताका लागि,

नेपाल तथा जनवादी गणतन्त्र चीनका जनताको अनन्त शान्ति र समृद्धिका लागि टोस्ट प्रस्ताव गर्न चाहन्छु । र उपस्थित सम्पूर्ण विशिष्ट अतिथिहरूलाई यसमा सरिक हुन आव्हान गर्दछु ।

नेपाल-चीन मित्रता अमर रहोस् ।

यो पनि पढ्नुहोस्

चिनियाँ राष्ट्रपति सी काठमाडौं आइपुगे

यस्तो छ चिनियाँ राष्ट्रपति सी को २ दिने भ्रमणका कार्यतालिका

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !