२० बैशाख २०८१, बिहिबार

‘विकट’को परिचय बदल्न खोज्दै नरैनापुर


काशीराम शर्मा, बाँके, ३० असार । आठ स्थानीय तह रहेको बाँकेमा अन्य गाउँपालिकाभन्दा विकासमा घेरै अघिदेखि पछाडि पर्दैआएको गाउँपालिका हो, नरैनापुर । विगतदेखि नै नरैनापुरले ‘विकट’को उपमा पाइरहेको छ । बाटोघाटो, बिजुली बत्ती, वित्तीय सेवा लगायतको सेवासुविधा पर्याप्त नहँुदा नरैनापुर गाउँपालिका विकट मानिएको हो । तर, अहिले विस्तारै आफ्नो परिचय बदल्ने लयमा अघि बढ्दैछ, यो गाउँपालिका ।

विकास भएको त्यो बेला देखिन्छ, जति बेला गाउँठाउँका बाटाहरु पक्की बन्छन् । अहिले नयाँ बाटाहरु बन्नाका साथै सडक विस्तारलाई अभियानकै रुपमा अघि बढाइँदा सडक सञ्जालले सबै गाउँ टोल र बस्तीहरु जोडिँदैछन् ।

एक वर्ष पहिले मात्रै पनि नेपालगञ्जबाट नरैनापुर जान गाडीमा चार घण्टासम्म लाग्ने गथ्र्यो । बाटोको अवस्था दयनीय हँुदा हिँड्डुल गर्न नै मुश्किल पर्ने नरैनापुरका सडक स्थानीय सरकार आएपछि सुधारिँदै गएका छन् । साना तथा ठूला सडकहरु बन्ने क्रममा छन् । केही सडकहरु पक्की बनेका छन् भने केही सडकमा ग्राभेल तथा माटो पटान गरिएको छ ।

सडकलाई शुरुदेखि नै फराकिलो बनाउने सोचका साथ विकास निर्माणका कामहरु भइरहेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । “गाउँपालिकामा धमाधम सडक बनिरहेका छन् । गाउँगाउँमा ६ मिटर चौडाइका पक्की सडकहरु बन्न थालेपछि स्थानीय पनि खुशी भएका छन्,” अध्यक्ष शाहले भन्नुभयो ।

कालाफाँटाका स्माइल खाँले जनप्रतिनिधि आएपछि नरैनापुरको विकासमा तीव्रता आएको बताउनुभयो । गाउँगाउँमा फराकिला सडक बनेको देख्दा आफूहरु दङ्ग परेको उहाँले बताउनुभयो । वडा नं ५ जमुनीमा हुलाकी सडक हुँदै गाउँ जोड्ने ५०० मिटर लम्बाइ र छ मिटर चौडाइ रहेको पक्की सडक गत वर्ष नै बनिसकेको छ ।

गाउँपालिकाले यस वर्ष नालीसहित थप एक किलोमिटर पक्की सडक बनाएको छ । सडक बन्ने भएपछि नरैनापुरका स्थानीय बासिन्दाले सडक क्षेत्रमा परेका घरटहराहरु आफैंले भत्काएका छन् । स्थानीय बासिन्दाको सहयोगमा नरैनापुरमा सडक विकासको काम गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष शाहले जनाउनुभयो ।

उहाँले भन्नुभयो – “शुरु शुरुमा घर भत्काएर सडक बनाउन आनाकानी गरेका स्थानीयवासीले गाउँमै गाडी छिर्ने पक्की बाटो बन्ने भएपछि गाउँपालिकालाई सडक बनाउन साथ दिएका छन् ।” उहाँका अनुसार घर अगाडि गाडी नै गुड्ने पक्की सडक बनेपछि स्थानीय बासिन्दा अहिले खुशी भएका छन् ।

नरैनापुरका अधिकाँश सडकहरु कृषि सडकका रुपमा विकास गरिने र त्यसबाट किसानले उत्पादन गरेको अन्नबाली सहजै सदरमुकाम नेपालगञ्जसम्म पु¥याउन सहज हुने विश्वास गरिएको छ । गाउँसम्म पुग्ने सडक अधिकाँश सडक कच्ची भएकाले किसानको अन्नबालीलाई बजारसम्म पु¥याउन कठिन हुँदै आएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार गतिलो र स्तरीय सडक अभावका कारण नरैनापुरमा साना तथा ठूला उद्योग खुल्न सकेका छैनन् जसका कारण पनि गाउँपालिकाको क्षेत्रभित्र पर्ने सबै सडकलाई स्तर वृद्धि गर्नुपर्ने बाध्यता रहेकै कारण सडक निर्माणलाई प्राथमिकता दिइएको हो ।

हुलाकी सडकबाट भारतीय सीमा जोड्ने पक्की सडक बनाउने योजनाअन्तर्गत ६ वटै वडामा गत वर्षदेखि पक्की सडकहरु निर्माण भइरहेका छन् । गाउँपालिकाका जनप्रतिनिधिलाई निर्वाचनताका मत माग्ने क्रममा सडक नभएकाले ट्र्याक्टरमा बसेर गाउँगाउँसम्म जानुपर्ने बाध्यता थियो ।

गाउँपालिका अध्यक्ष शाहले निर्वाचनका क्रममा भोगेका पीडा स्मरण गर्दै भन्नुभयो – “सडक स्तरीय थिएनन् । ट्र्याक्टरमा बसेर टाढाटाढाको गाउँसम्म प्रचारप्रसार गर्न जाँदा निकै दुःख झेल्नुपरेको थियो तर, अहिले नरैनापुरको अवस्था निकै फेरिएको छ । सडकहरुको स्तरोन्नति गरिएपछि नरैनापुरका गाउँहरुमा आउजाउ गर्न समस्या छैन ।”

उहाँका अनुसार मुख्य सडकमध्ये केही कालोपत्रे भइसकेको छ । गाउँमा ६÷६ मिटरका सडकहरु बनिरहेका छन् । “सबै भित्री गाउँका सडकहरु गाडी सहजै जान मिल्ने गरी नालीसहितको बनाइरहेका छौं,” अध्यक्ष शाहले भन्नुभयो । वडा नं ५ कै नयाँ बस्तीमा पनि यसै वर्ष पक्की बाटो बनेको छ । यस आर्थिक वर्षमा मात्रै नरैनापुर गाउँपालिकामा पिसिसी सडक ३.५ किलोमिटर निर्माण भएको छ । त्यस्तै, ग्राभेल तथा कच्ची बाटो ५ किलोमिटर, एक किलोमिटर नाला निर्माण र तीन वटा स्ल्याव कल्भर्ट निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

कच्ची बाटो भएको ठाउँमा सडक चौडा गरी नालीसहितको पक्की बनाउने र सडक नै नभएको ठाउँमा नयाँ सडक बनाउने काम भइरहेको उहाँले बताउनुभयो । भारतीय सडक भएर जानुपर्ने वडा नं २ रोशनपुर्वामा पनि यसै वर्ष कच्ची सडक निर्माण गरिएको छ । आगामी वर्ष ग्राभेल बिछ्याउने योजना रहेको वडा नं २ का अध्यक्ष मसुद अहमद शाहले बताउनुभयो ।

सडक नहुँदा जनतालाई आवतजावतमा निकै समस्या पर्ने गरेको उहाँले बताउनुभयो । त्यस्तै, वडा नं ५ को मटेहिया महादेवनगर जाने सडक निर्माण पनि भर्खरै सकिएको छ । सडक सञ्जालले गाउँपालिकाका सबै वडा, गाउँ र बस्तीलाई नजोडेसम्म विकास सम्भव नहुने भएकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो ।

नेपालगञ्जदेखि नरैनापुरको कट्कुइँया जोड्ने ४४ किलोमिटर लामो हुलाकी सडक पनि धमाधम बनिरहेको छ । हुलाकी सडकमा कालोपत्र गर्नेे काम हाल वडा नं ६ गंगापुरको भोजपुरसम्म सम्पन्न हुँदैछ । यो सडक बनेपछि नरैनापुरदेखि नेपालगञ्जसम्मको सडक सम्पर्क सहज बन्ने छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडक निर्माण गरिएको छ ।

गाउँपालिकाले वडा नं २ रोशनपूर्वामा तीन किलोमिटर लम्बाइ र चार मिटर चौडाइको सडक निर्माण थालेको छ । नेपाली गाउँ भए पनि बाटो नहुँदा भारतीय भूमि भएर पुग्नुपर्ने रोशनपूर्वामा सडक निर्माण कार्य सकिने क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

“सडक निर्माणका क्रममा स्थानीय बासिन्दाको अवरोधका कारण केही ढिलाइ भएको हो,” बस्नेतले भन्नुभयो – “अध्यक्ष आफैंले स्थानीय बासिन्दासँग छलफल गरेर सडक निर्माणको कामलाई अघि बढाएपछि निर्माण कार्य सकिँदैछ ।” यस वर्ष नयाँ ट्र्याक खोलेका सडकहरुलाई आगामी वर्ष सकेसम्म कालोपत्र नै गर्ने गाउँपालिकाको योजना छ ।

त्यस्तै, वडा नं ६ गंगापुरका पाँच वटा गाउँ जोड्ने आठ मिटर चौडाइको सडक निर्माण पनि भइरहेको छ । करीब एक किलोमिटर सडक बनाउने काम पनि चलिरहेको छ । अहिले करीब चार मिटर मात्रै चौडा रहेको सडकलाई आठ मिटर फराकिलो बनाउन थालिएको छ । शहरी विकास आयोजना अन्तर्गत रु ७० लाख लागतमा यो सडक बन्न लागेको हो । उक्त सडकले गंगापुरदेखि जमुनी हुँदै कोहला गाउँलाई जोड्नेछ ।

“एक दुई वर्षभित्रै नरैनापुरले ‘विकट’को उपमा बदल्नेछ,” अध्यक्ष शाहले भन्नुभयो – “हामी नरैनापुरलाई विकट होइन निकट बनाउने अभियानमा लागिरहेका छौं ।” आफ्नै कार्यकालमा नरैनापुरलाई सुगमको सूचीमा पार्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !