५ जेष्ठ २०८१, शनिबार

पहिले विद्यार्थी खोज्दै, अहिले रोज्दै


Students

१७ असोज, कास्की । पोखरा महानगरपालिका–१२ मा सञ्चालित शीतलादेवी सामुदायिक माध्यामिक विद्यालय दुई दशकमा उल्लेख्य शैक्षिक फड्को मार्न सफल भएको छ ।

कुनै समय विद्यालयमा विद्यार्थी नभएर भर्नाको लागि घरघरमा खोज्दै हिँड्नुपर्ने अवस्था थियो । अहिले विद्यार्थीको चाप धान्न नसकेर रोजेर भर्ना लिनुपर्ने अवस्था छ । सामुदायिकमा शैक्षिक गुणस्तर खस्केर नीजि विद्यालयप्रतिको आकर्षण बढिरहेको बेला शीतलादेवी भने उत्कृष्ट नतिजाको कारणले सरकारी मूल्याङ्कनमा सर्वोत्कृष्ट हुँदै आएको छ । एसइईमा राम्रो नतिजा ल्याउन सफल सो विद्यालय देशभरका ३४ हजार सामुदायिक विद्यालयमध्येबाट २०७३ र २०७५ सालमा उत्कृष्ट बनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएको थियो ।

विसं २०७४ को एसइई परीक्षा नजिताको आधारमा शिक्षा मन्त्रालयले विद्यालयलाई सो पुरस्कार प्रदान गरेको हो । एसइई परीक्षा २०७४ मा सहभागी विद्यार्थीमध्येबाट विद्यालयका छात्रा अर्चना सापकोटाले चार जिपिए ल्याउन सफल भएकी थिइन् भने अन्य विद्यार्थीको पनि नतिजा राम्रो रहेको विद्यालयले जनाएको छ । दुई दशकअघि १५ देखि २० विद्यार्थी पढ्ने सो विद्यालयमा अहिले नर्सरीदेखी १२ कक्षासम्म ८२५ विद्यार्थी अध्ययनरत छन् ।

“विद्यार्थी नभएर घरदैलो गरेर ल्याउनुपर्ने अवस्था थियो , अहिले विद्यार्थी रोजेर भर्ना गर्नुपर्ने अवस्था छ,” विद्यालयका वरिष्ठ सल्लाहकार डा अनिल सुवेदी बताउनुहुन्छ, “त्यसबेला कसरी विद्यार्थी ल्याउने भन्ने चिन्ता हुन्थ्यो, १५÷२० बालबच्चा पनि निम्न वर्ग र समुदायका मात्र हुन्थे ।” दुई दशकमै सरकारी विद्यालयमध्ये देशमै सर्वोत्कृष्ट भएको छ । विद्यालयले हासिल गरेको अहिलेको उपलब्धिलाई कायमै राख्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ ।

विद्यालयको अहिलेको सफलतामा शैक्षिक वातावरण राम्रो बनाउन निरन्तर लागिपर्ने विद्यालय व्यवस्थापन समिति, शिक्षकको मिहिनेत तथा समुदायको विद्यालयप्रतिको चासो नै हो । विसं २०५५ मा शीतलादेवीमै बालबालिका भर्ना गर्न आग्रह गर्दै अभिभावकलाई मनाउँदै हिँड्नुपरेको अनुभव उहाँले सुनाउनुभयो । “उक्त समयमा बोर्डिङमा पढाउने चलन शुरु भएको थियो, घरनजिकैको विद्यालय छाडेर अभिभावक निजी विद्यालयप्रति आकर्षित थिए” सुवेदीले भन्नुभयो, “घरघरमा पुगेर दोहो¥याइ दोहो¥याइ पनि अभिभावकलाई सम्झाउँथ्यौँ ।”

विसं १९८८ मा भाषा पाठशालाको रूपमा खुलेको विद्यालय २०२१ सालमा माटेपानी प्राथमिक विद्यालयको रूपमा सञ्चालनमा आयो । विसं २०५७ मा विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने सरकारी नीतिअनुसार सामुदायिक विद्यालयको रूपमा रहेको विद्यालयले २०६४ सालदेखि अङ्गे्रजी माध्यमबाट शिक्षण शुरु गरेपछि अभिभावकको विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक बाबुराम अधिकारी बताउनुहुन्छ ।

विद्यालयले २०६१ सालदेखि २०६४ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट शिक्षण गर्दै आएकामा अङ्ग्रेजी शिक्षाप्रति अभिभावकको मोह बढेपछि २०६४ देखि अङ्ग्रेजी माध्यमबाट मात्र पठनपाठन गरिँदै आएको छ । नेपाली भाषाको माध्यममा मात्र पढाइ सञ्चालन गर्दा ७३ विद्यार्थी रहेको सो विद्यालयमा अङ्ग्रेजी माध्यममा कक्षा शुरु गरेपछि विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ । “अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि कहिल्यै विद्यार्थीको कमी भएन”, उहाँले भन्नुभयो ।

वर्षेनी विद्यार्थी बढ्दै गएपछि अहिले प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने गरिएको छ । विश्वसनियता बढाउन र अभिभावकलाई आश्वस्त पार्न डिकोडिङ गरेर प्रवेश परीक्षा सञ्चालन गर्ने गरिएको छ । पोखरा महानगरपालिका– १२ का साथै वडा नं ११ र १३ का समेत विद्यार्थी अध्ययनका लागि यहाँ आउने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्की समुदायको सहयोगबाट नै विद्यालयले प्रगति हासिल गरेको बताउनुहुन्छ । विद्यालयको शैक्षिक नतिजा राम्रो हुनुमा निरन्तर लागिपर्ने शिक्षकको साथसाथै समुदायको पनि महत्वपूर्ण हात रहेको छ । पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको सो विद्यालय शैक्षिक गुणस्तरका साथै भौतिक पूर्वाधारमा पनि धनी छ । विद्यालयमा दुई पक्की तीनतले भवन छन् । विद्यार्थीलाई आवश्यक कम्प्युटर र विज्ञान प्रयोगशालालगायतको सुविधा छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !