१५ जेष्ठ २०८१, मंगलबार

पूर्ण सरसफाइयुक्त वडा घोषणा


Nepalpatra

१५ असोज, दमौली ।  तनहुँको देवघाट गाउँपालिका–१ लाई गण्डकी प्रदेशकै तेस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ ।

नियमितरुपमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धीकरण, व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहरमैलाको उचित व्यवस्थापनलगायतका मापदण्ड पूरा भएपछि उक्त वडालाई पूर्ण सरसफाइयुक्त घोषणा गरिएको हो ।

यसअघि तनहँुकै भानु नगरपालिका–१३ लाई पहिलो र देवघाट गाउँपालिका–२ लाई दोस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिसकिएको छ । देवघाट गाउँपालिका–१ लाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्य र सरसफाइमा नागरिक पूर्ण सचेत बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले घोषणा गर्नु मात्रै ठूलो कुरा नभएकाले यसलाई निरन्तरता दिनु चुनौती रहेको बताउनुभयो ।

पाँच सय १८ घरधुरी रहेको वडाका हरेक घरधुरीले पूर्ण सरसफाइका सबै सूचक पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वरोजगार कोषमार्फत् छ करोड १७ लाख लगानी 

तनहुँमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत रु छ करोड १७ लाख ५० हजार लगानी भएको छ ।

चार वर्षको अवधिमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति तनहुँले उक्त रकम लगानी गरेको हो । कोषले १५ वटा सहकारी सङ्घसंस्थामार्फत् आर्थिक वर्ष २०७२÷७३ देखि ०७४÷०७५ सम्म कर्जा लगानी गर्दै आएको समितिका सदस्य सचिव वसन्त दरैले बताउनुभयो ।

जिल्लाका १५ वटा सहकारी सङ्घसंस्थाले ४२५ लाई कर्जा लगानी गरेको छ । जसमध्ये २१६ महिला र २०९९ पुरुष रहेको दरैले जानकारी दिनुभयो ।

कोषमार्फत् रकम लिएकाले गाईपालन, व्यापार, कुखुरापालन, तरकारी खेतीमा लगानी गरेका छन् ।

कोषले सहकारीलाई पाँच प्रतिशत ब्याजदरमा रकम उपलब्ध गराउने र सहकारीले सम्बन्धित व्यक्तिलाई १० प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गरेको छ । रकम लिने व्यक्तिले नियमित भुक्तानी गरे तिरेको ब्याजको ६० प्रतिशत ब्याज फिर्ता हुने प्रावधान रहेको छ । बेरोजगार युवालाई व्यावसायीकरण गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ सरकारले देशभर कोषमार्फत रकम लगानी गरिरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !