२३ बैशाख २०८१, आइतबार

न्यु स्टार झापा फाइनलमा


फुटबल

१६ भदौ, ताप्लेजुङ ।  न्यु स्टार झापाले ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यु स्टार फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा चर्च ब्वाइजको फाइनलमा पुग्ने सपना पूरा हुन सकेन ।

खेलको ३८औँ मिनेटमा चर्च ब्वाइजका लागि बुद्धिमान राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको दोस्रो मिनेटमा नै चर्च ब्वाइजका कप्तान रमेश दङ्गालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । बराबरीपछि निकै प्रतिस्पर्धात्मक देखिएको खेलको ९३औँ मिनेटमा न्यु स्टारका सनम राईले फ्रि किकमार्फत आकर्षक गोल गर्दै आफ्नो टिमलाई उपाधि भिडन्तका लागि पक्का गरे । उपाधिका लागि भोलि हुने फाइनल खेलमा न्यु स्टारले झापाकै रेड स्टारसँग प्रतिस्पर्धा गर्नेछ । रेड स्टारले भने टाइबेकरमा ४–३ गोल अन्तरले राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै उपाधिका लागि ठाउँ पक्का गरेको थियो ।

सदरमुकाम फुङलिङको भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिताका विजेताले रु तीन लाख एक हजार १११ र उपविजेताले रु एक लाख ५१ हजार १११ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

शनिबार समापन हुने उक्त प्रतियोगिता यही भदौं ८ गतेदेखि शुरु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !