२ मंसिर २०८१, आइतबार

नार्कमा भन्दा किसानका खेतमा आधा उत्पादन


dhan_khabarbreak

१५ साउन, ललितपुर नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले अनुसन्धान गर्दा आफूले फलाए भन्दा किसानका खेतमा आधा परिमाणमा धान फल्ने गरेको छ । 

किसानका खेतमा गर्नुपर्ने काम समयमा नहुने, मलखादको व्यवस्था नहुने र सिँचाइको उपलब्धता राम्रो नहुँदा नार्कले अध्ययनका लागि फलाएको भन्दा कम उत्पादन हुने गरेको हो । नार्कको आफ्नो खेतमा भन्दा किसानको खेतमा झण्डै आधा उत्पादन हुने बाली विज्ञान महाशाखाका प्राविधिक अतीत पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय बीउ हामीले यहाँ परीक्षण गर्दा एक हेक्टरमा पाँच÷छ टनसम्म फल्छ भने त्यही बीउ किसानको खेतमा जम्मा तीन टन मात्रै फलेको छ ।”

नार्कले आफूले लगाएको भन्दा किसानको खेतमा कम उत्पादन दिने हुनाले नै अध्ययनका क्रममा उत्पादन राम्रो देखिएको बीउ किसानको खेतमा परीक्षण गरेर मात्रै सिफारिस गर्दै आएको छ । उहाँ भन्नुहुन्छ, “हामीले विकास गरेका उन्नत जातले यहाँ राम्रो उत्पादन दिएपछि किसानलाई एक वर्ष लगाउन दिइन्छ र त्यसैको आधारमा मात्रै सिफारिस गर्ने÷नगर्ने टुंगो लगाइन्छ ।”

एउटा बीउ सिफारिसका लागि पनि छ सात वर्षसम्म लाग्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पहिले यहाँ रोपेर उत्पादन आएपछि पनि यहाँका त्यसअघिका बीउले भन्दा बढी उत्पादन दिने र रोग प्रतिरोधी क्षमता हुँदा मात्रै नयाँ बीउ सिफारिश गर्दै आएका छौँ ।” किसानका खेतमा लगाएर त्यहाँबाट आएको सुझावका आधारमा मात्रै सिफारिश हुने उहाँ बताउनुहुन्छ ।

तराईका लागि जनकपुरस्थित हर्दिनाथ राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र पहाडका लागि बाली विज्ञान महाशाखाले किसानलाई उन्नत जातका धानका बीउ सिफारिश गर्दै आएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !