२३ बैशाख २०८१, आइतबार

झाडापखाला नियन्त्रण हुँदैः बिरामी आउने क्रम जारी


Nepalpatra

१३ जेठ, दाङ  । शान्तिनगर गाउँपालिका वडा नं ३ र ४को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै गएको छ ।

गए राति १ बजेसम्म उपचारका लागि आएका ४१९ मध्ये ४१ गम्भीर बिरामीको राप्ती अञ्चल अस्पताल र तुलसीपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको र अहिले उनीहरुको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पतालले जनाएको छ । अन्य बिरामी भने उपचारपछि घर फर्किसकेका छन् ।

आज बिहान भने महामारी फैलिएको गाउँबाट प थप ४३ महिला र २५ बालबालिकालाई उपचारका लागि ल्याइएको उपचारमा संलग्न डा किशोर खत्रीले जानकारी दिनुभयो । ती बिरामीलाई शान्तिनगरको चिराघाट स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको छ । गए रातिदेखि नेपाली सेना १९ नं बाहिनी अड्डा तुलसीपुरको टोलीले पनि बिरामीको उपचार गरिरहेको छ ।

महामारी नियन्त्रणका लागि व्यापक सतर्कता अपनाइएको छ । सो ठाउँमा रहेको माइली पानी मुहानमा गए रातिदेखि नै नेपाली सेनाको टोली र जिल्ला खानेपानीबाट गएको टोलीले सरसफाइ तथा औषधि राखेका छन् ।

सो गाउँपालिकाको पातेटाकुरास्थित बयालेसिम्ता मावि, हुमाचन्द्र आधारभूत विद्यालय र बुद्ध मावि विद्यालय आज बन्द गरिएको गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगीले जानकारी दिनुभयो । पानीको मुहान दूषित हुँदा जीवाणुका कारण झाडापखालाको महामारी फैलिएको डा खत्रीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !