२२ बैशाख २०८१, शनिबार

घलेगाउँमा घरबास महोत्सव कार्यशाला


Ghale Gaun

११ जेठ, लमजुङ । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि घलेगाउँमा दुईदिने घरबास महोत्सव तथा कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।

तारागाउँ विकास समितिले आयोजना गरेको सो महोत्सवमा सात वटै प्रदेशका संस्थागत तथा निजी २२६ घरबासका प्रतिनिधिको सहभागिता छ । महोत्सवमा स्याङ्जाका रुद्रमान गुरुङले सञ्चालनमा ल्याएको नेपालको पहिलो सिरुबारी घरबास र लमजुङको सार्कस्तरीय घलेगाउँ सामुदायिक घरबासका प्रतिनिधिलाई जनही रू एक लाख एक हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो ।

महोत्सव शुभारम्भ गर्दै प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने बताउनुभयो । प्रदेशका जनताको आर्थिक समृद्धिका लागि स्वच्छ खानेपानी, कृषि विकास तथा यान्त्रिकीकरण, सञ्चार सुविधा उपलब्ध गराउन विभिन्न योजना ल्याइएको जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य थापाले होटेललाई होमस्टे भन्नुभन्दा होमस्टेलाई होम स्टेकै रुपमा विकास गर्न आ¬¬आफ्नै क्षेत्रको प्राकृतिक स्वरुपको विकास र गुणस्तर वृद्धि गर्न आग्रह गर्नुभयो । आयोजक संस्थाका अध्यक्ष नारायणकुमार लुइँटेलले घरबास सञ्चालक र पर्यटन विशेषज्ञको सुझावबमोजिम पर्यटन प्रवद्र्धन गर्न सकिने बताउँदै कार्यशालाले बनाउने रणनीतिबाटै सरकारलाई नयाँ नीति बनाउन सहज हुने छ भन्नुभयो ।

कार्यशालामा पर्यटनविद् शिवप्रसाद जैसी, दीपक अधिकारी र बलराम मायालुले क्रमशः ‘नयाँ पर्यटन गन्तव्यस्थलहरुको पहिचान एवं प्रवद्र्धनः आवश्यकता र महत्व’, ‘मध्य तथा सुदूर पश्चिममा रहेका सामुदायिक होमस्टेहरुको अवस्था र सुधार गर्नुपर्ने विषय’ तथा होमस्टे पर्यटन कार्यक्रमले ग्रामीण समुदायको आर्थिक समृद्धि र विकासमा खेलेको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !