२२ बैशाख २०८१, शनिबार

काँग्रेस पराजय वाम गठबन्धनका कारण : कार्की


Gyanendra Bahadur Karki

 

२६ वैशाख, इटहरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँंग्रेसले पराजय भोग्नुको मुख्य कारण वाम गठबन्धन भएको बताउनुभएको छ ।

उहाँले मंगलबार सुनसरीको धरानमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले धरानमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदा उक्त कुरा बताउनुभएको हो । उहाँले दुई कम्युनिष्ट पार्टी एक भएर चुनाव लड्नु र काँग्रेस चाहिँ दुई पार्टीजस्तो भएर चुनावी मैदानमा जाँदा निर्वाचनको परिणाम यस्तो आएको दाबीसमेत गर्नुभयो ।

पार्टीका प्रभावशाली नेता कार्कीले विगतलाई सम्झेर अब नेपाली काँग्रेसले प्रजातन्त्र र संविधानको पूर्ण पालनासहित कार्यान्वयनमा जोड दिँदै पार्टीको विगतलाई सच्याएर नयाँ र वैज्ञानिक ढंगले अघि बढ्न जरुरी रहेको कुरामा समेत जोड दिनुभयो । उहाँले नेका अहिले पनि देशमा जनविश्वास प्राप्त पार्टी भएकाले आत्तिएर कमजोर अनुभूति नगर्न समेत उहाँले नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।

सोही अवसरमा प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले पार्टी छोडेर असहयोग गर्ने गैरकाँग्रेसीलाई समेत क्रियाशील सदस्यता वितरण भएको भन्दै यस्तो कार्यको अन्त हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोलेले अब पनि आपसी तिक्तता, मनमुटाव, प्रतिशोध र असमझदारी त्यागेर मेलमिलाप, सहमति र सहकार्यको राजनीति नगर्ने हो भने काँग्रेसप्रतिको विश्वास घट्दै जाने बताउनुभयो ।

क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्षेत्रीय सचिव मुरारी भट्टराई, प्रदेशसभा सदस्यका प्रत्यासी बुद्धि कटवाल, भोजपुरका महासमिति सदस्य हेमन्त मुकारुङ, क्षेत्रीय सहसचिव प्रेमकुमार राई, नगर सचिवद्वय श्याम पोखरेल र युवराज शंकरलगायतले बोल्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !