२१ बैशाख २०८१, शुक्रबार

तलव खाएपछि जनताको सेवामा केन्द्रित हुनुपर्छ : मन्त्री विना


Bina Magar

५ वैशाख, काठमाण्डौ । खानेपानी मन्त्री विना मगरले काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्रालयका कर्मचारीहरुलाई तलव खाएपछि जनताको सेवामा समर्पित हुन आव्हान गरेकी छन् ।

जनताकाे सेवामा अबरोध पुर्‍याउने हरेक अप्ठ्यारा तोडिनुपर्ने भन्दै मन्त्री मगरले कर्मचारीहरु जनताको सेवामा केन्दि्रत हुनुपर्ने बताएकी हुन् ।

‘देशले अहिले विगतको भन्दा फरक भूमिका मागेको छ । सिस्टम, पद्दति, अनुहार त्यही होलान्, तर हाम्रो भूमिका फरक हुनुपर्छ,’ मन्त्री मगरले भनिन्,’हामीले नयाँ ढंगले प्रस्तुत हुन तयार हुनुपर्‍यो । सरकार र हाम्रो मन्त्रालयप्रति जनताले गरेका अपेक्षा हरहालतमा पूरा गर्नुपर्‍यो ।’

विकसित र समृद्ध नेपालको पहिलो आधार खानेपानी र सरसफाइ हो । यसको जिम्मेवारी हामीले लिएका छौं,’ उनले भनिन्, ‘अहिले हरेक जनताले हाम्रो मन्त्रालयलाई, तपाईंहरुलाई, मलाई हेरिरहेका छन्, मौलिक अधिकार सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न हामीमा तेर्सिएको छ ।’

मन्त्रालयका कामकारवाही सञ्चालनका क्रममा आउने हरेक समस्यालाई सहजिकरण गर्न आफू प्रतिवद्ध रहेको मन्त्री मगरले बताइन् । ‘अहिलेको सरकार हिजोको जस्तो सरकार होइन, जनताको म्यान्डेड प्राप्त सरकार हो । यही अनुसार जनताले अपेक्षा गरेका छन् ।’ उनले भनिन् ।

कार्यक्रमकै अवसरमा मन्त्री मगरले ललितपुरको भैसेपाटीस्थित बोर्डको नवनिर्मित भवनको उद्घाटन समेत गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !