२१ बैशाख २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय जीएम ओपन चेसमा विदेशी खेलाडीको अग्रता


Chess

२ वैशाख, काठमाण्डौ । काठमाण्डौ ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगितामा उच्च वरियाताका विदेशी खेलाडीहरुले अग्रता लिएका छन् ।

होमल्याण्ड स्पोर्टस क्लबको आयोजनामा बुढानिलकण्डमा रहेको पार्क भिलेज रिसोर्टमा भैरहेको प्रतियोगिताको पाँचौं चरणमा दुई ग्राण्डमास्टरहरु युक्रेनका तार्लेभ कन्स्टेन्टिन र बेलारुसका कास्पारोभ सर्गेइले बराबरी खेलेपछि ४.५ अंकसहित संयुक्त अग्रता लिएका छन् । त्यस्तै, अजरबैजानका ग्राण्डमास्टर मिर्जोभ अजरले भारतीय खेलाडी जीवी हर्षबर्धनलाई पराजित गरी ४.५ अंक हासिल गरे ।

यता पाँचौं चरणमा रसियाली ग्राण्डमास्टर फोमिनी अलेक्जेन्डर भने भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीसँग पराजित हुन पुगे । जितसँगै हर्षले पनि ४.५ अंकका साथ संयुक्त अग्रता बनाएका छन् ।

भारतीय ग्राण्डमास्टर श्रीराम झाले आफ्नै देशका अनुप देशमुखलाई पराजित गरे । उनले पनि ४.५ अंक जोडेका छन् ।

पाँचौं चरणमा भारतीय ग्राण्डमास्टर दीप सेन गुप्ताले भने आफ्नै देशका इन्टरनेशनल मास्टर पीश्याम निखिलसँग बराबरी खेले । भारतकै इन्टरनेशनल मास्टर हिमाल गोसाईंले पनि आफ्नै देशका निलेश साहसँग बराबरी खेले ।

बंगलादेशी फिडे मास्टर अब्दुल मोहम्मदले भारतीय फिडे मास्टर सी लक्ष्मीलाई पराजित गर्दै ४ अंक जोडे ।

प्रतियोगिताकै उच्च वरियता (२५९८)का रुसी ग्राण्ड मास्टर भोल्कोभ सर्गेइले पाँचौं चरणमा भने भारतीय खेलाडी सुभ्रदिप्ता दाशलाई पराजित गरे । उनी चौथो चरणमा भारतीय खेलाडी निलेश साहसँग पराजित भएका थिए । छैटौं चरणमा उनले नेपाली फिडे मास्टर मनिश हमालसँग खेल्नेछन् ।

प्रतियोगिताको पाँचौँ चरणसम्म आउँदा नेपाली खेलाडीहरुले औसत प्रदर्शन गरेका छन् । पाँचौं चरणमा नेपाली फिडे मास्टर मनिश हमालले भारतीय खेलाडी कस्तुप कुण्डुसँग बराबरी खेले भने राजन पुरी भारतीय इन्टरनेशनल मास्टर पद्यिनी राउतसँग पराजित भए ।

त्यस्तै, चौथो चरणमा भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीसँग हारेका बद्रिलाल नेपाली पाँचौं चरणमा पनि भारतकै फिडे मास्टर अंकित ग्वाजासँग पराजित भए ।

रुसमा चेस अध्ययन गरिरहेका नेपाली फिडे मास्टर रुपेश जयसवालले भारतीय खेलाडी थेन्डुप तामाङलाई पराजित गरे । त्यस्तै शीर्ष वरियाताका नेपाली खेलाडी क्याण्डिडेड मास्टर विवेक थिङले पनि नेपालकै भूपेन्द्र निरौलालाई हराए ।

गएको साता सम्पन्न सहकारी कप चेस प्रतियोगिताको उपाधि विजेता क्याण्डिडेट मास्टर केशव श्रेष्ठले भने यस प्रतियोगितामा कमजोर प्रदर्शन गरेका छन् । उनले पाँचौं चरणमा नेपालकै राजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरी खेले ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !