१४ बैशाख २०८१, शुक्रबार

शेयर बजारमा सामान्य गिरावट, सर्टटर्म कारोबारी हाबी !


Bearish Market

२६ चैत, काठमाण्डौ । साताको दोस्रो दिन सोमबार शेयर बजार परिसुचक नेप्सेमा सामान्य गिरावट आएको छ । निकै उतारचढाव देखिएको बजार ७ दशमलव ५२ अंकले घटेर १ हजार २ सय ८७ दशमलव १३ को बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा झिनो गिरावट आए पनि कारोबार रकम भने एकअर्ब नजिक रहनुले अत्तालिनुपर्ने अवस्था नरहेको देखाउँछ ।

सोमबारको बजारमा सर्टटर्म कारोबारी हाबी भएका बजार विश्लेषकहरु बताउँछन् । लामो समयदेखि बढ्न नसकेको बजार गत साताको अन्तिम २ कारोबार दिन र आइतबार बढेर एउटा उचाई प्राप्त गरेपछि सेयर बेचेर थोरै भए पनि नाफा बुक गरिहाल्ने प्रवृतिका कारण सोमबारको बजार घटेको दाबी गरिएको छ । पछिल्लो समय बजारमा दैनिक कारोबारी हाबी हुँदै आएका छन् ।

यो दिन कारोबार सुरुवातका केही मिनेटमा बजार परिसूचक दोहोरो अंकले बढेको थियो, तर फेरि सम्हालिएर केही घट्यो । पहिलो एकघण्टा बित्दा बजार परिसूचक २१ अंकले बढेको थियो । त्यसपछि नागबेलीको चालको कुदेको बजार अन्तिम अवस्थामा गिरावटतर्फ अग्रसर देखियो ।

सोमबार अन्य समूहमा २.९१ अंकको वृद्धि भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो । बैकिङ समूह ६.४१, होटल समूह ३६.७४, विकास बैंक समूह १८.६४, जलविद्युत समूह ३७.५९, बित्त समूह ०.६९, बिमा समूह २८.६, उत्पादनमूलक २१.१५ र माइक्रोफाइनान्स समूह ४.८७ अंकले घटे ।

‘क’ वर्गका कम्पनीका कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.४ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६६ अंकको गिरावट आएको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६९ कम्पनीका २६ लाख २ हजार ५ सय ७६ कित्ता सेयर ९४ करोड २० लाख ९३ हजार ४ सय ९ रुपैयाँमा किनबेच भयो ।
यो दिन सबैभन्दा बढी बैंक अफ काठमाण्डूको १२ करोड २९ लाख बढीको संस्थापक सेयरको किनबेच भयो । यस्तै, नवील बैंकले ३ करोड ५५ लाख बढीको कारोबार गर्यो भने बुटवल पावर कम्पनीले २ करोड ४९ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ३० लाख, प्रभू इन्स्योरेन्सले २ करोड २९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २० लाख, एभरेष्ट बैंकले १ करोड ९६ लाख, नेपाल बैंकले १ करोड ९३ लाख, चिलिमे हाइड्रोले १ करोड ९० लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ३ कम्पनीका लगानीकर्ताले कुस्त कमाए । सिर्जना फाइनान्स बित्तीय संस्था, सूर्योदय लघुवित्त र कावेली विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !