२३ बैशाख २०८१, आइतबार

सशस्त्र प्रहरीलाई पाखा लगाउँदै संकटा सेमिफाइनल प्रवेश


फुटबल

२१ चैत, बिराटनगर ।  विभागीय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा गएराति भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । संकटाको जितमा विदेशी खेलाडी जिब्रेल नायक बने । ६१ औं मिनेटमा उनको प्रहारले जाली चुम्दा संकटा भाग्यमानी ठहरियो ।

बंगलादेश स्पोर्टिङ फुटबल क्लब नआएपछि गोल्डकपमा मौका पाएको संकटाले शनिबार फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी र थ्री स्टारबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । ३० यार्ड टाढाबाट जिब्रेलले गरेको पावर सुटिङ प्रहारले पोष्टको दिशा लिंदा सशस्त्र दवावमा पर्‍यो ।

पहिलो हाफसम्म दुवै टिमले बराबरी खेलेका थिए । २०७० सालको विराट गोल्डकप विजेता संकटाले जित निकाल्नका लागि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । २८ औं मिनेटमा जिब्रेलको प्रहार क्रस बारमा लागेर फर्किदा संकटाले अग्रता लिने अवसर गुमायो । रिबाण्ड बललाई विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरे पनि त्यसले सहि दिशा लिन नसक्दा कठिन जितका लागि संकटाले ६१ औं मिनेट सम्म कुर्नु पर्‍यो ।

खेलको म्यान अफ्दी म्याच संकटाका जिब्रेल घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । बुधबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !