५ जेष्ठ २०८१, शनिबार

राष्ट्रले समृद्धि र जनताले सुख पाउनुपर्छ : मन्त्री बस्नेत


Shakti Bahadur Basnet

७ चैत, काठमाण्डौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिमार्फत जनताको जीवनमा सुखी ल्याउने काममा सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज मन्त्रालयअन्तर्गतका विभिन्न विभाग तथा विकास समितिको ब्रिफिङका क्रममा उहाँले मुलुक राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब जनताले व्यवहारमा महसुस गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

“अब संक्रमणकालको बहानामा जनताका काममा ढिलासुस्ती र हेलचेक््रयाइँ गर्ने दिन सकिए”–मन्त्री बस्नेतले भन्नुभयो, “इमान्दारी र दृढतापूर्वक जनताको खुसीका लागि काम गर्नूस् ।”

उहाँले जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार कर्मचारीले पुरानो कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिदैं “राष्ट्रले समृद्धि र जनताले सुख पाउनुपर्छ,” भन्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “हामी मन्त्रीहरुलाई स्पष्ट रुपमा प्रधानमन्त्रीको यही निर्देशन छ, मुलुकलाई केन्द्रमा राखेर नतिजा देखिने गरी काम चाहिन्छ,”

मन्त्रालय र विभागका काम पारदर्शी र जनता केन्द्रित हुनुपर्ने बताउँदै उहाँले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले जनताका काम गर्न कानून वा ऐनले रोकेको भए सरकार त्यसलाई परिवर्तन गर्न तयार छ भन्दै ऐन र कानूनको अर्घेल्याइँ देखाएर पन्छने प्रवृत्ति सह्य नहुने स्पष्ट पार्नुभयो ।

मुलुकको झण्डै ४४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको चर्चा गर्दै उहाँले कुल ग्राहस्थ उत्पादनमा वन क्षेत्रको योगदान निराशाजनक रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले आगामी दिनमा वन क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा योगदान गर्नुका साथै रोजगारी सिर्जना गर्ने गरी कार्ययोजना ल्याउन पनि कर्मचारीलाई दिर्नेशन दिनुभयो ।

उहाँले राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समिति, दि टिम्बर कर्पोरेशन अफ नेपाल, वन पैदावार विकास समिति, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, भू–तथा जलाधार विभागलगायतको ‘ब्रिफिङ’ लिनुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !