१४ बैशाख २०८१, शुक्रबार

कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै


सडक मर्मत

मान्म । कालीकोट जिल्लामा दैलेख जिल्लाका तीन ठाउँबाट सडक जोडिने भएको छ । कालीकोटमा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाडीमाडी–पीपलकोट हुँदै खुलालु मान्म, माथिल्लो–डुगेश्वर, दुल्लु, कुशापानी, कालीकोटको भर्ता हुँदै नाग्म र दैलेख सदरमुकामबाट महाबु, चिल्खाय, नाग्म हुँदै जुम्ला जोडने सडक निर्माण गरिएका हुन् ।

दैलेखबाट निर्माण गरिएका तीनवटा सडक कालीकोट र जुम्लाको सिमाना नाग्मसम्म जोडिने कालीकोट महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताउनुभयो । “दैलेखका तीन ठाउँबाट कालीकोट जोड्ने सडक निर्माण भएका छन् । दैलेखतर्फको सडकखण्ड निर्माण भइसकको छ, अब कालीकोटतर्फको सडकखण्ड निर्माण हुन बाँकी छ”, उहाँले भन्नुभयो, “तीन ठाउँबाट सडक निर्माण भए सुर्खेतबाट कालीकोट र जुम्लाको सडक दूरीमा कमी आउनेछ । बाटो छोटो हुनेछ ।”

सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै कालीकोटको नाग्म पुग्न २०० किलोमिटर र दैलेखका तीन स्थानबाट कालीकोट सडक जोडिएमा ६० किलोमिटर छोटो दूरी हुने काली शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले जानकारी दिनुभयो । “अहिले यी तीनवटै सडकमा काम चलिरहेको छ । कतिपय स्थानमा ग्राभेल, नाली र कालोपत्रको काम भइरहेको छ । केही ठाउँमा ठूला भिरमा चट्टान फोड्ने काम पनि जारी छ”, उहाँले भन्नुभयो, “कालीकोटमा दैलेखबाट सडक जोडिए छोटो दूरी कायम हुन्छ तर दैलेखमा सडक निर्माणको कामले तीव्रता पाएको भए पनि कालीकोटमा सडक निर्माणको काम सुस्त छ । सङ्घीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राख्न सकेका छैनन् ।”

दैलेखको सदरमुकाम हुँदै कालीकोटको महावै गाउँपालिका जोड्ने सडकको ११ किलोमिटरमा कडा चट्टान भेटिएको तथा कालीकोटको भैँसेगौडादेखि चिल्खाय हुँदै नाग्मसम्म आठ किलोमिटरमा चट्टान रहेको कालीकोट महावै गाउँपालिकाका अध्यक्ष सिंहले बताउनुभयो । “यी चट्टान फोड्न सके सडक निर्माणको काम सहज हुनेछ”, उहाँले भन्नुभयो, “यस सडकको कालीकोटको भैँसेगौडाको तिला नदीमा पुल निर्माण भइरहेको छ । पुल निर्माण भए यो सडक सञ्चालनमा आउने छ तर स्तरोन्नतिको काम गर्न जरुरी रहेको छ ।”

कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक निर्माण भएमा आर्थिक वृद्धि र रोजगारीमा टेवा पुग्ने कालीकोट शुभकालिकाका अध्यक्ष चौलागार्इंले बताउनुभयो । “अहिले सेरी पान्तडीको सडक निर्माण भइरहेको छ । दैलेखबाट कालीकोट जोडिने सडक यसैमा जोडिने हुन्”, उहाँले भन्नुभयो, “यी सडक निर्माण भए कालीकोटको आर्थिक विकास, रोजगारी, व्यापारलगायतका सम्भावना बढेर जान्छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !